नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै

    खबरपुञ्ज संवाददाता

    २१ असार २०७८, मंगलवार

    चितवन : वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या यतिबेला बढेको हो ।

    डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको छ ।

    आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिरहनुभएका उहाँले भन्नुभयो, “लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको छ ।” पछिल्ला वर्षहरूमा पहिरो नखसेको सो ठाउँमा एकाएक पहिरो खसेको हो । सडकबाट झण्डै ८० मिटरमाथि बारी छ । त्यहाँ छ मिटर जति माटो मात्रै रहेको उहाँले जानकारी दिनुभयो । त्यस ठाउँमा खेती गरिँदै आएको छ ।

    सोही ठाउँबाट पहिरो तल खसेको छ । भिरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ । त्यहाँबाट पानी बगिरहेकाले पनि पहिरो रोक्न कठिन भएको छ । सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उहाँको भनाइ छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा सडक खुलाउन मुस्किल भएको बताउनुहुन्छ । एक सातायता सो सडकले दुःख दिइरहेको छ । उहाँले भन्नुभयो, “अब सडक खुल्यो भन्ने बेलामा सेतीदोभानमा पहिरो खस्न शुरु गरेको हो ।”

    असार १८ गते साँझदेखि खसेको पहिराले निरन्तर दुःख दिइरहेको छ । कतिबेला के हुने हो ? निकै जोखिम बढेको भन्दै उहाँले भन्नुभयो, “सबैलाई म अनुरोध गर्न चाहन्छु, हिँड्नैपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्नुहोस् ।” जाममा परेकाहरू बिरामी भएका, खान नपाएका र सडकमा उच्च जोखिममा रहेका भन्दै उहाँले पूर्वबाट आउने सवारीलाई बर्दिबास र हेटौँडाबाट राजधानी छिर्न सुझाव दिनुभएको छ ।

    सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारीको सङ्ख्या तीन हजारभन्दा बढी पुगिसकेको भन्दै उहाँले विगत तीन दिनदेखि सडक खुल्ने प्रतीक्षामा ठूला सवारी साधन कुरिरहेको जानकारी दिनुभयो । भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ । नारायणगढ–मुग्लिन सडकका फराकिला सडक र खुला ठाउँमा पनि सवारी रोकिराखिएको उहाँले जानकारी दिनुभयो ।