१८ घण्टा पैदल हिँडेर गाउँमा खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    १८ घण्टा पैदल हिँडेर गाउँमा खोप

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०७८, शनिबार

    दमाैली : केही दिनदेखि परेको वर्षाका कारण तनहुँ जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । ठाउँ–ठाउँमा पहिरा गएर सडक अवरुद हुँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । पहिराका कारण सडक अवरुद्ध हुँदा कोभिड विरुद्धको खोप अभियान सञ्चालनका लागि पनि सास्ती भएको छ । सवारी नचल्दा गाउँदेखि दमौलीसम्म हिँडेरै आएर खोप लैजानुपर्ने बाध्यता आइलागेको छ ।

    देवघाट गाउँपालिका–२ बैदीबाट दमौली आउने बाटो विगत केही दिनदेखि बन्द छ । बाटो अवरुद्ध भएपछि बैदीमा पैदल हिँडेरै खोप पु¥याइएको छ । १८ घण्टाको पैदलयात्रापछि बैदीमा दुई सय १० खोप पु¥याएर खोप अभियान सञ्चालन गरिएको देवघाट स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभयो । “बाटो बन्द नहुँदा दुई घण्टामात्रै हिँडे पुग्थ्यो, तर बाटो पहिराले अवरुद्ध भएपछि १८ घण्टा लाग्यो,” उहाँले खबरपुञ्ज डटकमसँग भन्नुभयाे ।

    गाउँदेखि नै हिँडेर दमौली आई पुनः हिँडेरै खोप पु¥याइएको उहाँले बताउनुभयो । “एक दिन नौ घण्टा हिँडेर आएर दमौली बास बसी भोलिपल्ट पुनः नौ घण्टा हिँडेर गाउँसम्म खोप लगियो,” उहाँले भन्नुभयो । बाटो अवरुद्ध नहुँदा कार्यालयकै गाडीले मास्दी र खाल्डेसम्म पु¥याएपछि त्यहाँबाट मात्रै हिँडे पुग्थ्यो, तर अहिले त्यो अवस्था नभएपछि पूरै बाटो हिँड्नुपर्ने अवस्था आएको थियो ।

    बैदीजस्तै देवघाट गाउँपालिका–३ छिपछिपेमा पनि १८ घण्टा हिँडेर खोप पु¥याइएको छ । छिपछिपेका लागि एक सय ७८ खोप दमौलीबाट लगिएको थियो । बुढाथोकीका अनुसार देवघाटका अधिकांश ठाउँमा हिँडेरै खोप पु¥याइएको छ । सिन्च्याङ र कोटामा देवघाटबाट खोप ढुवानी गरिएको थियो । “जस्तोसुकै परिस्थितिमा पनि स्वास्थ्यकर्मीले काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

    स्वास्थ्य कार्यालय तनहुँका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीले सबै स्थानीय तहका स्वास्थ्यकर्मी बाढीपहिराका बाबजुद पनि खोप अभियानमा सक्रिय भएर लागिपरेको बताउनुभयो ।

    जिल्लाका दश वटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । ५५ वर्ष उमेर समूहमाथिका, विद्यालयका शिक्षक, प्राध्यापक, सार्वजनिक सवारीका चालक, सहचालकलाई वडा–वडाका स्वास्थ्य केन्द्रबाट खोप लगाउने काम भइरहेको छ । मागभन्दा कम खोप आएकाले खोप अभियान सञ्चालनमा कठिनाई भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा करिब २७ हजारलाई खोप लगाइनेछ ।