म्याग्दे : तनहुँको म्याग्दे-४ स्थित म्याग्दे खोलामा पक्की पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । मिन माध्यमिक विद्यालयको पछाडी रहेको पुल गत वर्षको बाढीले भत्काएको थियो ।
प्रदेश सरकारले उक्त ठाउँमा पुल निर्माणका लागि ४० लाख विनियोजन गरेको छ । गत असारमा पुल निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई म्याग्दे-४,६ र ७ का जनताका तर्फबाट ज्ञापनपत्र बुझाइएको थियो ।
“मीन मावि पढ्ने विद्यार्थी, तिनका अभिभावक र यस भेगका धेरै सर्वसाधारण ओहोरदोहार गर्ने थर्पुबजार प्रवेशको महत्त्वपूर्ण नाकाको रुपमा रहेको पुल बाढीले भत्काएपछि कष्ट भएको थियो,” स्थानीय एवं नेपाली काङ्ग्रेस केन्द्रीय विभाग सदस्य हुतमणि अघिकारीले भने, “जनताको माग र आवश्यकता सम्बोधन भएको छ ।”