आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा यसअगाडी छुट भएकालाई मङ्गलबार कोभिड विरुद्धको खोप लगाइने भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि खोपको उपलब्धताका आधारमा स्वास्थ्य विभागले तोकेका मापदण्डभित्र रही छुट भएका लक्षित समूहका लागि मङ्गलबार खोप लगाउन लागिएको हो ।
गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य केन्द्रमार्फत् खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । आँबुखैरेनी–१ स्थित सत्रसय आधारभूत स्वास्थ्य केन्द्र, २ को तिलबारी आधारभूत स्वास्थ्य केन्द्र, ३ को आँबुखैरेनी स्वास्थ्य चौकी, ४ को आमडाँडा शहरी स्वास्थ्य केन्द्र, ५ को छिम्केश्वरी स्वास्थ्य चौकी, ६ को देउराली स्वास्थ्य चौकी र ६ कै प्युघर शहरी स्वास्थ्य केन्द्रमा खोप लगाइनेछ ।
५० वर्ष र सोभन्दा बढी उमेरका नागरिक, विद्यालयका शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिक र अशक्त अपाङ्गता भएकालाई खोप लगाइनेछ । यसबाहेक अन्य व्यक्तिका लागि चरणबद्ध खोप आउने क्रम जारी रहेकाले धैर्य गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।