दुलेगौडा : युनियन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले शनिबार मृतकको परिवारलाई ५ लाख १८ हजार रुपैया दाबी भुक्तानी गरेको हो ।
कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, एजेन्सी म्याजेजर अनिल थापा, क्षेत्र बहादुर थापा, सोम प्रसाद श्रेष्ठ, इन्द्र पौडेल लगायतको टिमले स्वर्गीय बीमित गम बहादुर थापाको हकवाला शुक्लागण्डकी-४ निवासी देउ माया थापा मगरलाईलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन ।
विसं २०७७ साल असोजमा गम बहादुर थापा मगरले ५ लाख बराबरको जीवन बीमा गरेका थिए । उनले ५ लाखको बीमा गर्दा प्रथम बीमा शुल्क बापत ३२ हजार रुपैया मात्र कम्पनीमा जम्मा गरेका थिए ।५ लाखको बीमा गरेका निज थापाको गत असार महिनामा असामयिक निधन भएको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा वक्ताहरुले आजको दिनमा जीवन बीमा अनिवार्य रहेकाले सबै जनाले आफ्नो आर्थिक स्थित अनुसार केही रकम बीमाका लागि छुट्याउनुपर्नेमा जोड दिए । बीमितका हकवाला श्रीमती देउमायाले जीवन बीमाको महत्व रहेको आफूलाई अनुभव भएको बताइन् ।
शाखा प्रमुख ओमकार नागिलाले रोग, संक्रमण र जोखिम बढ्दै गएको अवस्थामा आम मानिसमा बीमाको महत्व बढेको बताए ।