दुलेगाैडा : विश्वकै दुर्लभ रोगबाट ग्रसित ९ महिने बालकको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोगबाट ग्रसित शुक्लागण्डकी नगरपालिका–५ का मोहम्मद उस्मान अलीको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुटिरहेको छ ।
उनको उपचारमा सघाउन जिल्लाका युवाहरुले आर्थिक सङ्कलनलाई तीव्रता दिएका छन् । रकम सङ्कलनका लागि उनीहरुले घरदैलोदेखि सामाजिक सञ्जालमार्फत् सहयोगको अपिल गरिरहेका छन् ।
यसैक्रममा शुक्लागण्डकीस्थित गल्छिनाका युवायुवतीले राजमार्गमै सहयोगको अपिल गरेर रु एक लाख दुई हजार पाँच सय २२ सङ्कलन गरेको छ । खैरेनी र दुलेगौडास्थित बस रोक्ने ठाउँमा बसेर सहयोगको अपिल गर्दा उक्त रकम सङ्कलन भएको स्थानीय रुकिया खातुनले जानकारी दिइन् ।
व्यास मुस्लिम समाजले पनि दमौलीमा घरदैलो गरी रकम सङ्कलन गर्दै आएको छ । उस्मानको उपचाका लागि हालसम्म २० लाख सङ्कलन भएको परिवारले जनाएको छ ।
बालकको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले सहयोगको आग्रह गरेको छ ।