भानु : तनहुँको भानु नगरपालिकास्थित कालिमाटी कुन्छा मोटरमार्ग मर्मतका लागि स्थानीयले नगरपालिकालाई एक साताको अल्टिमेटम दिएका छन् । गत असार १ गते र त्यसपछि असार १८ गते परेको वर्षाका कारण सडक क्षतविक्षत भई सवारी साधन सञ्चालन हुन नसकेपछि मर्मतको माग गर्दै स्थानीयले नगरपालिकालाई अल्टिमेटम दिएका हुन् ।
भानु–१० र ११ का स्थानीयवासीले बिहीबार नगरपालिकामा डेलिगेशन गई उक्त अल्टिमेटम दिएका हुन् । कालीमाटी दुधेकुना हुँदै कुन्छा जोड्ने सडकको करिब साढे दुई महिना बितिसक्दा पनि स्थानीय तहले चासो नदिएकाले बिरामीलाई समेत स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता आएको स्थानीयवासी विष्णुप्रसाद पोख्रेलले बताए । “सडक मर्मतका लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्दा स्थानीय तहमै निवेदन दिन भनेपछि मर्मतका लागि नगरपालिकालाई अनुरोध गरेका छौ,” उनले भने ।
करिब २५ वर्ष अगाडि काङ्ग्रेस नेता एवं पूर्वमन्त्री गोबिन्दराज जोशीको पहलमा सडक खोलिएको भए पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्नु दुःखद रहेको उनको भनाई छ । “आगामी एक सातासम्म पनि मर्मतको काम शुरु नभए चुप लागेर बस्दैनौ,” उनले भने ।महत्वपूर्ण सडक भएर पनि उपेक्षा गरिनु जनताको अधिकारमाथिको खेलवाड भएको स्थानीय रामकृष्ण ढकालले बताए ।
नगरप्रमुख उदयराज गौलीले तत्काल मर्मतका लागि ढुङ्गा, गिटी, ग्राभेलको आवश्यक पर्ने भएकाले सो को व्यवस्थापनका लागि जिल्ला समन्वय समितिमा छलफल गरी समाधान गरिने बताए ।
प्रमुख प्रशासकिय अधिकृत भिमनिधि तिवारीले आफू सहित प्राविधिकको टोली शुक्रबार नै उक्त सडकको अवलोकनका लागि जाने र तत्काल नगरपालिकाले गर्न सक्ने कार्य गरी एम्बुलेन्स चल्न मिल्न बनाउने प्रतिबद्धता जनाए ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।