दुलेगाैडा : बुद्धजयन्तीका दिन मात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज आन्तरिक पर्यटकले जहिले भरिन्छ । सधैँ दुलेगौंडा शहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा त्यही शहरका व्यस्त मान्छेहरु साँझ विहान टहलिन पुग्छन् । स्वस्थ बन्न पैदलयात्रा गरेर उकालो चढ्छन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ एक्लेपाखा सामुदायिक वनमा पर्ने एक्लोडाँडा आन्तरिक पर्यटकको रोजाईमा परेको छ । यो वर्ष कोरोना संक्रमण रोक्न गरिएको निषेधाज्ञाको बेला सामाजिक सञ्जालमा एक्लेडाँडो भाइरल बन्यो । घरमै थुनिएर बसेकाले घुम्नलाई नजिकको गन्तव्य चाहर्न थालेपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् ।
स्थानीय टिका अधिकारीका अनुसार शनिबार र चाडपर्वमा दैनिक २÷३ सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लन्छन् । ‘अरु दिनमा पनि विहान बेलुका भिड नै हुन्छ,’ उनी भन्छन्, ‘डाँडामा केही संरचना छैन र त पर्यटक बढेको बढ्यै छन् । प्रतिक्षालय, शौचालय, खानेपानीको व्यवस्थापन गर्न सकेको खण्डमा अझै बढ्छन् होला ।’
अधिकारीका अनुसार घाँस दाउरा गर्न बाहेक यो डाँडामा स्थानीय समेत त्यतिसारो उक्लन्थेनन् । ‘हामीले घाँस दाउरा गर्ने र गाईबाख्रा चराउने ठाउँ थियो । अहिले घुम्ने ठाउँ बनेको छ,’ उनले सुनाए । नागबेली चालमा सुसेल्दै बग्ने सेती नदी र सुरौदी खोला सिरानको एक्लेडाँडा गर्मीयाममा गर्मी छल्नलाई उपयुक्त गन्तव्य हुने अधिकारीको भनाई छ ।
पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका बर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धुपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पुजा गर्ने शान्त डाँडैभरी झिलीमिली ध्वजापताका टाँगिएको छ । जसले आगन्तुक पर्यटकलाई फहराउदै स्वागत गर्दछ । फहराईरहेका ती झिलीमिली ध्वजापतका पृष्ठभूमिमा पारेर तस्बिर र भिडिओ कैद गर्न धेरै जसो आन्तरिक पर्यटकको पदचाप डाँडोतिर लम्कन्छ ।
डाँडो भाईरल हुन अगाडी नै वडाको नजर परिसकेको थियो । पर्यटकीय सम्भावना देखेर डाँडाको विकास गर्नलाई डिपिआर बनाउदै गर्दा जिल्लाका अग्ला डाँडातिर आन्तरिक पर्यटक उक्लने ट्रेन्ड बढ्यो । ‘त्यो ट्रेन्डले जसरी नि हामीले यो डाँडाको विकास गर्नुपर्छ भनेर हौस्यायो,’ वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले भने, ‘१० लाख रुपैयाँको बजेट विनियोजन भएको थियो । त्यही रकमले २ सय मिटर रेलिङ सहितको पदमार्ग बनायौँ । त्यसपछि त पर्यटक आउन सुरु भयो ।’
पर्यटक बढ्न थालेपछि फेरि गत वर्ष नै प्रधानमन्त्री रोजगार कार्यक्रमको ५ लाख रुपैयाँ बजेटले ढुंगाको छपनी बिछ्याएर साढे २ सय मिटर पदमार्ग बनाईएको उनले बताए । वडाध्यक्ष रेग्मीका अनुसार यो पदमार्गलाई २ किलोमिटर बनाएर पवित्र तीर्थस्थल ढोरवाराही मन्दिरसंग जोड्ने लक्ष्य छ।
एक्लेडाँडामा पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्य बनाउन १२ करोड ५३ लाख ३४ हजार ४ सय १ रुपैयाँको डिपीआर तयार गरिएको छ । डिपीआर अनुसार २ किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतिक गौतम बुद्धको मूर्ति निर्माण गरिनेछ । ‘बौद्ध धर्मालम्बीको आस्था भएको हुनाले यहाँ बुद्धको मूर्ति निर्माण हुनेछ’, वडाध्यक्ष रेग्मीले भने ।
यस्तै पृथ्वीराजमार्गमा लेखनाथ देखी म्याग्देबाट देखिने गरेर आमाको प्रतिकका रुपमा स्तनपान गराईरहेकी महिलाको विशाल मूर्ति समेत निर्माण गरिने उनले बताए । उक्त मूर्ति १ सय ८ फिट अग्लो हुनेछ । एक्लेडाँडादेखि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जीपलाइन निर्माण गर्ने योजना समेत समेटिएको छ । जीपलाइन साहसिक पर्यटकका लागी उत्कृष्ट गन्तव्य बन्न सक्नेछ । किनकी एक्लेडाँडाको छङ्गाछुर भिर पार गरेर सुरौदी खोला, सेती नदी माथि–माथि हुँदै च्यवनधाममा जीपलाइन जोडिनेछ ।
करोडौँको योजना बनाईएपनि एक्लेडाँडाको विकासका लागि बजेट विनियोजनमा भने कन्जुस्याँई गरिएको छ । यो आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाले एक्लेडाँडाको पर्यटन विकासका लागि १० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । प्रदेश र संघीय सरकारसँग बजेटको माग गरेको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।