दमाैली : भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालनका लागि सहयोग जुटाउन थालिएको छ । सोही विद्यालयको पूर्व विद्यार्थी मञ्चले विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न सहयोग पु¥याउने उद्देश्य सहित आर्थिक सङ्कलन जुटाउन थालेको हो ।
मञ्चले आव्हान गरे बमोजिम विभिन्न ठाउँबाट सहयोग जुट्न थालेको मञ्चका अध्यक्ष गलबहादुर गुरुङले जानकारी दिए । अङ्ग्रेजी माध्यममा पठनपाठन गर्नका लागि रकम अपुग भएपछि सहयोग सङ्कलन गरिएको उनले बताए ।
वार्षिकरुपमा एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र त्यसका लागि विद्यालयको आर्थिक श्रोतले नसकिने भएपछि पूर्व विद्यार्थी कोष स्थापना गरी अभियान थालिएको गुरुङले बताए । “अभियानमा देश तथा विदेशबाट सहयोग जुटिरहेको छ, विद्यालयका पूर्व विद्यार्थीले पनि सहयोग गरेका छन्,” उनले भने ।
हालसम्म सङ्कलन भएको ६० हजार सोमबार विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमारा साहलाई हस्तान्तरण गरिएको छ । मञ्चका सचिव रामकृष्ण कुंवरका अनुसार पोखरीछाप घर भई अष्ट्रेलिया रहेका प्रेम गुरुङले २५ हजार, खड्कागाउँका प्रकाश थापाले दश हजार, बर्खौलाका प्रेम गुरुङले पाँच हजार पाँच सय, पुलिमराङका युवराज गुरुङले पाँच हजार, महम्मद तालिम मियाले पाँच हजार पाँच, मोहोरिया खड्कागाउँ घर भई दुवई रहेका रविन खड्काले दश हजार सहयोग गरेका छन् ।