देवघाट : तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाममा गलेश्वर मार्ग, योग तथा सभाहल निर्माण सम्पन्न भएको छ । देवघाट क्षेत्र विकास समितिले महेशचोकदेखि गलेश्वर चोकमार्ग ढलान र योग तथा सभाहल निर्माण सम्पन्न गरेको हो ।
तीन वटै योजनाको गलेश्वर आश्रमका पिठाधीश अनन्त श्री विभूषित महाण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज र महेश सन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले संयुक्त रुपमा उद्घाटन गरे ।
गलेश्वर आश्रमका पिठाधीश अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले नेपालकै पवित्र स्थान देवघाटधाम हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल कालीगण्डकी र त्रिशुली नदीको वेणी सङ्गममा पर्ने भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य भक्तालुहरुलाई आकर्षण गर्न धार्मिक महत्व झल्काउने बाटो बनाउनुपर्नेमा जोड दिए ।
महेश सन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले देवघाटको गरिमा बोकेको स्थानहरुको संरक्षण र जगेर्ना गर्नुपर्ने बताए । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाटको विकासका लागि गाउँपालिकाले योजना बनाएर अगाडी बढेको बताए ।
देवघाट क्षेत्र विकास समितिको ५५ लाखको लागतमा देवघाटको सभ्यता झल्किने गरी सडक ढलान गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए ।
साथै ५० लाखको लागतमा योगा तथा सभाहल निर्माण गरिएको छ । योग गर्ने ठाउँको अभाव भएकाले समितिले योग तथा सभाहल निर्माण गरेको छ । योग तथा सभाहल निर्माणका लागि स्थानीयवासीले पनि लागत सहभागिता बेहोरेका छन् । “योग तथा सभाहल समितिको आम्दानीको स्रोत पनि बन्छ, यसलाई भाडामा पनि दिन्छौ,” घिमिरेले भने ।