सुरक्षित खानेपानीयुक्त वडा घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    सुरक्षित खानेपानीयुक्त वडा घोषणा

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, मंगलवार

    देवघाट : तनहुँको देवघाट गाउँपालिका–४ लाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ । खुला दिसामुक्त घोषणा भएर कार्यान्वयनमा आएको, सरसफाई तथा स्वच्छतासम्बन्धी कार्यक्रम पूर्णरुपमा लागू भएको, खानेपानीसम्बन्धी सुरक्षा योजना भएको, समय–समयमा मर्मतसम्भार गर्न सक्ने व्यवस्था लागू भएको, खानेपानीको गुणस्तर जाँच भएको लगायतका सूचक पूरा गरेपछि उक्त वडालाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।

    सुरक्षित खानेपानीयुक्त वडा घोषणा हुने उक्त वडा देवघाटको दोस्रो हो । यसअघि देवघाट गाउँपालिका–५ लाई पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिसकिएको छ ।

    ‘एक घर एक धारा’ अभियान अन्तर्गत वडाका सबै घरधुरीमा सुरक्षित खानेपानी सुविधा पुगेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । “उक्त वडामा वितरित खानेपानी शुद्ध रहेको अनुगमनबाट पुष्टि भएपछि सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो,” थापाले भने, “अन्य वडालाई पनि क्रमशः सुरक्षित खानेपानीयुक्त बनाउँदै लगिनेछ ।”

    युनिसेफका सूर्य थापाले सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएपनि खानेपानीको बेला बेलामा परीक्षण गर्नुपर्ने बताए ।

    नेपालको संविधान २०७२ को धारा ३५, उपधारा ४ मा ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ’ उल्लेख गरेको र संयुक्त राष्ट्रसङ्घले पारित गरेको दिगो विकास लक्ष्यहरु अन्तर्गत सुरक्षित खानेपानी तथा सरसफाईमा पहुँच सुनिश्चित गर्ने उद्देश्य प्रति नेपाल सरकारले पनि प्रतिबद्धता जाहेर गर्दै उक्त लक्ष्य पूरा गर्न विभिन्न कार्यृक्रम सञ्चालन गर्दै आएको छ ।