पृथ्वी राजमार्गको बिजोग : मर्मतमा करोडौँ खर्च, अवस्था उस्तै (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वी राजमार्गको बिजोग : मर्मतमा करोडौँ खर्च, अवस्था उस्तै (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७८, बिहीबार

    दुलेगाैडा : आर्थिक वर्ष सकिएपनि साउन पहिलो साता पृथ्वी राजमार्गको खैरेनीटार खण्डमा कालोपत्रे सडकलाई कालोपत्रेले टाल्न हतारो थियो । निर्माणमा खटिएका मजदुरले पानी पर्दा काम रोक्ने, घाम लागेपछि शुरु गर्दथे ।

    एकातिर कालोपत्रेमाथि कालोपत्रे भइरहँदा त्यही राजमार्गको गाछेपानी–कोत्रे खण्डमा राजमार्गमै एम्बुलेन्स फस्ने दुरावस्था थियो । चौतर्फी आलोचना भएपछि सडक डिभिजन कार्यालय दमौलीले सडकमा भएका खाल्डाखुल्डी स्थानीय सामग्रीले पु¥यो ।

    कालोपत्रे माथि कालोपत्रे गरिएको सडक र माटोले खाल्डा पुरिएको सडकको अवस्था अहिले एउटै छ । मर्मतको दुई महिना नबित्दै सडकभरी खाल्डैखाल्डा बनेका छन् । पृथ्वी राजमार्गको कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा अत्याधिक साना ठुला खाल्डा छन् । कोत्रेदेखि गाछेपानीसम्म त खाल्डा मात्रै नभएर सडकमा कालोपत्रे देख्ने मुस्किल हुन्छ । खाल्डासँगै वर्षायाममा ठाउँ ठाउँमा पहिरो झरेर अझ जोखिम बढाएको सवारी चालक बताउँछन् । कन्तविजोग अवस्थाको सडकमा दैनिक हजारौँ सवारी चालक र यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् ।

    देशकै प्रमुख राजमार्गको अवस्था ग्रामीण सडकको भन्दा खराब रहेको ट्याक्सी चालक अमित श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘बिरामी लिएर पोखराका हस्पिटल पुग्न अफ्ठ्यारो छ । न भनेको बेलामा पुग्न सकिन्छ, खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई सास्ती ।’ उनका अनुसार वर्षात भए खाल्डामा पानी जमेर पोखरी जस्तै बन्छ, घाम लागेपछि बाटो नदेखिने गरेर बुङ्बुङ्ती उड्छ धुलो ।

    सरकारको लाचारीपनले पृथ्वी राजमार्गको अवस्था कहिल्यै सुधार नभएको उनको भनाई छ । ‘सडक भत्कने बित्तिकै बन्दैन । बनेपछि कस्तो भयो भनेर अनुगमन हुँदैन । ठेकेदारको मनोमानी चल्छ,’ उनले गुनासो गरे ।

    पृथ्वी राजमार्गमा गाडी चलाउँदा असुरक्षित महशुस हुने गरेको अर्का सवारी चालक देव श्रेष्ठले बताए । ‘राजमार्ग भन्न पनि लाजमर्दो छ । दुर्घटनाको जोखिम बढेको छ । कस्लाई कम्पलेन गर्ने हो ? निगरानी कस्ले गर्दिन्छ ? सडक डिभिजन सुतेर बसेको छ,’ उनले भने । भत्केको सडकमा बस गुडाउँदा चाँडै बिग्रने समस्याले मर्मतमा खर्च बढेको उनले सुनाए ।

    पछिल्लो केही दिन यता पृथ्वी राजमार्गका खाल्डा पुर्न थालिएको छ । गाछेपानी कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयकी प्रमुख लक्ष्मी केसीले बताइन् । ‘यो सडक अहिले हाम्रो क्षेत्राधिकारमा पर्दैन । मुग्लिङ–पोखरा चार लेन सडकलाई हस्तान्तरण गरिसकेका छौँ । आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेका हौँ,’ केसीले भनिन् ।

    क्षेत्राधिकारमा नपर्ने भएकाले पृथ्वी राजमार्ग मर्मतका लागि कार्यालयसँग बजेट उपलब्ध नभएको उनको भनाई छ । सर्वसाधारणलाई सास्ती भएको देखेर बजेट नभएपनि दशैँ अगाडी सडकको खाल्डा पुर्ने केसीले जानकारी दिइन् ।

    पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैंक (एडीबी)ले सहुलियत ऋणमा चार लेनको बन्दैछ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रकृयामा गईसकेको छ । १३ भदौमा सडक डिभिजनले मुग्लिङ–कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ–पोखरा सडक योजनालाई दिएको केसीले जानकारी दिईन् । चार लेन सडकको आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर र जामुने–पोखरा ४५ किलोमिटरको दुई प्याकेजमा ठेक्का लगाइएको हो ।

    ५२ बर्षअघि रेखांकन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किलोमिटर पर्दछ । देशकै सडक मर्मतका लागी मात्रै गत आर्थिक बर्ष २०७७÷७८ मा एक करोड १७ लाख ७४ हजार ३६ रुपैयाँ खर्च भयो । अघिल्लो आव २०७६÷७७ मा पाँच करोड १८ लाख ४१ हजार १ सय ५५ रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ । यसरी दुई बर्षमा मात्रै सडक मर्मतमा ६ करोड ३६ लाख १५ हजार १ सय ९२ रुपैयाँ खर्च भएको छ । तर, सडकको अवस्था भने उस्तै छ ।