काठमाडौ : एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण अन्तर्गत पहिलो क्वालिफयरमा जित हात पार्दै चितवन टाइगर्स फाइनल प्रवेश गरेको छ । उसले पोखरा राइनोजलाई ९ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले ७.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्यो ।
चितवनका लागि मोहम्मद शेहजादले ४८ रनको पारी खेले । ७.१ ओभरमा नन्दन यादवले आफ्नै बलमा क्याच गर्नुअघि उनले २६ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे ।
हसिम अन्सारीले अविजित १४ र करिम जन्नतले ४ रनको योगदान दिए । पोखराका लागि एक मात्र विकेट नन्दन यादवले हात पारे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्यटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्यो ।
चितवनको घातक बलिङकासामू पोखराका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । उसका लागि रिचर्ड लेभीले सर्वाधिक १९ रनको योगदान दिए ।
सुनिल धमलाले १८ र सुशन भारीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखराको पारी ध्वस्त बनाउने क्रममा चितवनका सागर ढकाल र साहब आलमले ४–४ विकेट हात पार्दा कप्तान सोमपाल कामी र करिम जन्नतको नाममा १–१ विकेट रह्यो ।
जितसँगै पहिलोपटक फाइनल प्रवेश गरेको चितवनले उपाधिका लागि दोस्रो क्वालिफायर विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
पराजित पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्स र काठमाडौँ किंग्स ११ बीच हुने इलिमिनेटरको विजेताको सामना गर्नेछ ।