दमाैली : नेपालीहरुको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत् करिब साढे चार करोड बराबरका खसीबोका विक्री भएको छ । महिलाहरुले सञ्चालन गरेको सहकारीमार्फत् दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका विक्री गरेका हुन् ।
असोज महिनामा ती सहकारीहरुले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका विक्री गरेको हो । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए ।
घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ४६ लाख ५९ हजार एक सय ३९, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी मार्फत् रु ८४ लाख ३२ हजार आठ सय ४०, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् रु ८८ लाख ३८ हजार सात सय १५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २३ लाख ६६ हजार एक सय ५५ बराबरको खसीबोका विक्री गरेका छन् ।
अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् रु ६७ लाख ७३ हजार पाँच सय ४९, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत् रु सात लाख २५ हजार एक सय आठ, शुभदिप सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २८ लाख ३८ हजार तीन सय २४, आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत् रु ११ लाख ९६ हजार पाँच सय ५०, सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ५० लाख ७५ हजार चार सय ७५, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ३० लाख २८ हजार एक सय ५८ को खसी विक्री भएको छ ।
ती सहकारीमार्फत् एक हजार चार सय ८८ खसीबोका विक्री भएका छन् । घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेका अनुसार सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई सहज हुने गरेको बताइन् ।
भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका विक्रीका लागि विगतवर्षदेखि नै बजारीकरणमा सहयोग पु¥याएको बताइन् । “यसले कृषकलाई खसीबोका विक्रीका लागि बजार खोज्नु हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ,” उनले भनिन् ।
भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले भनिन्, “प्रत्येक वर्ष दसैंतिहारमा सहकारीले नै व्यापारी खोजेर खसीबोका विक्री गरिदिन्छ, यसले गर्दा कृषकले पनि खसी विक्री गरेर चाडपर्व मनाउन पाउने गरेका छन् ।”
हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ अन्तर्गत दश वटा सहकारीले कृषकले पालेका खसीबोका विक्रीका लागि बजारीकरण गर्दै आएको छ ।
सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी विक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ ।
हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खसी विक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पु¥याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए ।