काठमाडौँ : हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश नम्बर १ र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पानि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले प्रदेश नम्बर १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ । काठमाडौंको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।
केही दिनअघि मौसममा आएको परिवर्तनसँगै निम्तिएको बाढीपहिरोमा परी कम्तीमा १०४ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको बिहीबार बेलुकासम्मको तथ्यांकअनुसार ४१ जना घाइते छन् ।