दुलेगौँडा : दुई बर्ष अगाडीको तिहारमा दिदीले पोखराबाट सयपत्रीको माला किनेर ल्याएर लगाईदिइन् । गाउँघरका आँगनका डिलमा सयपत्री र मखमली फुल्न छाडेपछि बजारबाट ल्याएर तिहारमा माला लगाइदिनुको विकल्प थिएन् । प्रतिमाला दुई सय रुपैयाँ तिरेर ल्याएकी दिदीले गलामा लगाइदिईन् । भाईटिका सकिएपछि दिदीभाई बिच छलफल चलेछ गलामा लगाएको सयपत्रीको विषयमा, ‘हाम्रो बारीमा पनि यस्तै फुल फुलाउन सकिएला कि नाई ?’ तनहुँको भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले आफैँसग प्रण गरेछन् अर्को साल जसै बारीमा सयपत्री लगाएर हेर्नुपर्ला कस्तो फुल्नेछ ।
तिहारमा दिदीले ल्याएर गलामा लगाइदिएको मालाका सयपत्रीलाई उनले विउ बनाएर गतबर्ष बारीमा परिक्षण स्वरुप लगाए । सयपत्री बारीमा ढकमक्क फुलेन मात्रै आम्दानी पनि रहर लाग्दो भएछ । ‘मालाको सयपत्रीलाई विऊ बनाएर विरुवा यही उत्पादन गरेर लगाउदा ६० हजार रुपैयाँ जतीको व्यापार गरे होला । आम्दानी पनि भयो र नयाँ अनुभव’, गोविन्द सम्झन्छन् ।
कोदो खेती गरेर मरीमेटी गर्दा मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा ६० हजार रुपैयाँको फुल फुलेपछि हौस्यिएका गोविन्दले यसपाली बर्षौदेखी बाझिएको साढे ४ रोपनी बारी फोरेर व्यवसायिक तवरले सयपत्री लगाएका छन् । बाझिएको बारी मात्रै होईन धान फल्ने खेतमा पनि उनले सयपत्री फुलाएका छन् ।
चितवनबाट कलकत्ते (सुन्तले रंगको) सयपत्रीको दश हजार विरुवा ल्याएर उनले २०६५ सालदेखी बाझो रहेको बारीमा लगाएका छन् । भदौ दोस्रो साता लगाएको सयपत्री तिहारको संघारमा ढकमक्क फुलेका छन् । बर्षौदेखी कोदो समेत फुल्न छाडेको बारीको गह्रामा ढकमक्क फुल फुल्दा मनमोहक देखिन्छ । वरपर सयपत्रीले मगमग सुवास छरेको छ । ढकमक्क सयपत्रीको दृश्य र मगमगाएको सुवासले गोविन्दलाई पनि सन्तुष्टि दिलाएको छ ।
एउटै बोटमा ८० वटासम्म सयपत्रीको थुंगा फुलेको छ । तिहारमा मात्रै सयपत्री बेचेर दुई लाख बढी आम्दानी हुने अनुमान गरेको गोविन्दले सुनाए । सयपत्रीले सजिलै बजार पाउने उनी बताउँछन् । उनले फुलको प्रचारका लागी सामाजिक सञ्जालको प्रयोग गरेका छन् । ‘फुल देखेपछि हामी लैजान्छौँ भनेर व्यापारीको फोन आईरहेको छ’, उनले भने, ‘बर्षेनी तिहारका लागि भारतबाट करोडौँको फुल नेपाल ल्याईन्छ भनेपछि बजार पाउन दुखै छैन् । उत्पादन गरेमात्रै भो, पैसा लिएर व्यापारी घरमै आउने भए ।’
माग धेरै आएपछि आफुले लगाएको फुलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर सप्लाई गर्ने योजना रहेको अधिकारीले बताए । गत बर्ष पनि लगाएको सयपत्री फुल सबै घरबाटै विक्री भएको उनी बताउँछन् ।
एसएलसी सकाएपछि गोविन्द वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब हानिए । १० बर्षको बसाईपछि नेपालमै केही गर्ने सोचले फर्किए । त्यसपछि यातायात व्यवसायमा हात हाले । सोचे जस्तो सन्तुष्टी मिलेन । उनको व्यवसायिक यात्रा फेन्सी पसलमा मोडियो । फेन्सीमा पनि सोचे जस्तो नभएपछि किराना पसल चलाउन थाले । जुन अहिले पनि चलिरहेको छ । त्यतिमा मात्र उनको मन रम्न सकेन, कहिले तरकारी खेती गरे त कहिले केराको व्यापार । कुनैमा आम्दानी नहुने, कहिले बजार नपाउने समस्या भएपछि उनको मन कतै अडिएन् । गत बर्ष लगाएको सयपत्री फुलमा भने उनको मन अडिएको छ ।
सयपत्रीमा सम्भावना देखेका उनी अब फुल खेतीलाई निरन्तरता दिने पक्षमा छन् । यसपाली व्यवसायिक तरिकाले लागेका उनी अर्को बर्ष फुल खेतीलाई अझ विस्तार गर्ने योजनामा रहेको बताए । ‘यहाँका धेरै युवाहरु पनि फुल खेतीमा आकर्षित देखिन्छन् । सम्भवत अर्को बर्ष सामुहिक रुपमै लाग्छौँ होला’, अधिकारीले योजना सुनाए । गाउँमा रहेका बाझा बारीमा ढकमक्क सयपत्री फुलाएर विदेशबाट ल्याउने फुललाई प्रतिस्थापन गर्ने सुर कसेका छन् उनले । तिहारको बेला मात्र नभएर हर समय फुल खेती गर्ने योजना बनाएको अधिकारीले सुनाए ।