एजेन्सी : बार्सिलोनाले आफ्नो मुख्य प्रशिक्षकमा जाभी हर्नानडेजलाई औपचारिक रुपमा भित्र्याएको छ । बार्सिलोनाका लिजेण्ड खेलाडी जाभीलाई आज क्लबको स्टेडियम क्याम्प नेउमा दर्शकका अगाडी प्रस्तुत गरिएको छ ।
जाभीले कतारको क्लब अल साद छोडेर बार्सिलोनाको प्रशिक्षक बनेका हुन् । यस सिजनमा खराब प्रदर्शनपछि रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर बार्सिलोनाले क्लबकै बि टिमका प्रशिक्षक सेर्गी बार्जुअनलाई अन्तरिम प्रशिक्षक बनाएको थियो ।
जाभीलाई प्रशिक्षकको रुपमा प्रस्तुत गर्ने समारोहमा क्लबका पुर्व प्रशिक्षक एवं हाल म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला पनि उपस्थित रहेका थिए ।
जाभीले आफुलाई बार्सिलोनामा फ्यानहरुले गरेको स्वागतबाट भावुक बनेको बताउदै घरमा फर्किएको प्रतिक्रिया दिएका छन् ।
जाभीले भनेका छन्- ‘म घरमा फर्किएको छु । बार्सिलोना विश्वकै उत्कृष्ट क्लब हो । घरमा फर्किन पाउदा निकै खुशी छु । भोलि देखि हामीले काम शुरु गर्ने छौं । हामीले बार्सिलोनाको मुल्य र मान्यता अनुसार काम गर्ने छौं ।’
जाभीले बार्सिलोनाले आफुलाई धेरै कुरा सिकाएको बताउदै आफ्नो अनुभवलाई क्लबको हितमा प्रयोग गर्ने बताए ।
उनले भनेका छन्- ‘हामीले हरेक दिन मिहिनेत गर्नुपर्ने छ । हामि बार्सिलोना हौँ । हामि राम्रो फुटबल खेल्न चाहन्छौं । यहि नै सकारात्मक नतिजा निकाल्ने उपाय हो ।’
जाभीले लियोनेल मेसीले पनि आफुलाई सन्देश पठाएको जानकारी दिदै अहिले क्लबमा नभएका खेलाडीको कुरा गर्नुको कुनै अर्थ नभएको बताए ।
जाभी बार्सिलोनाका लिजेण्ड खेलाडी रहेका छन् । उनले बार्सिलोनामा २५ ट्रफी खेलाडीको रुपमा जितेका छन् । १९९७ देखि २०१५ सम्म बार्सिलोनामा खेलेका जाभीले ८ ला लिगा र च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।
जाभीले बार्सिलोनाका लागि ७६७ खेल खेल्दै ८५ गोल र १८५ गोल असिस्ट गरेका थिए । जाभी बार्सिलोनामा लियोनेल मेसी (७७८) पछि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन् ।