म्याग्दे : म्याग्दे गाउँपालिकामा अवस्थित सुप्रिम बचत तथा ऋण सहकारीले मिन माध्यमिक विद्यालयलाई स्वास्थ्य र खेलकुदका सामग्री वितरण गरेको छ ।
कोरोना सङ्क्रमण न्यूनीकरण भएर विद्यालय खुलेपनि जोखिम कायमै रहेकाले सहकारीले विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
विद्यालयलाई ६ सय थान मास्क, १० थान ह्यान्ड वास, २४ थान साबुन, एक थान भलिबल सेट प्रदान गरिएको सहकारीका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।
थापाले उक्त सामग्री विद्यालयका अध्यक्ष पवित्रा घिमिरे, प्रधानाध्यापक राजेन्द्र भण्डारीलाई हस्तान्तरण गरे ।
सामाजिक काम तथा सहयोगका लागि जहिले पनि अग्रपंक्तिमा रहने यस संस्थाले विद्यालयमा मात्र नभएर अन्य विभिन्न क्षेत्रमा सामाजिक तथा आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।