दमाैली : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ जलविद्युत आयोजनाको आइतबार निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका छन् ।
महत्वपूर्ण दातृ निकायहरुको ऋण सहभागितामा निर्माणाधीन आयोजना समयमै सकेर उदाहरण प्रस्तुत गर्नुपर्नेमा घिसिङको जोड थियो । “महत्वपूर्ण दातृ निकायहरुको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,” घिसिङले भने । ठेकेदार कम्पनी, परामर्शदाता र आयोजनाले सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
घिसिङले बाँधको निर्माण कार्य ढिलाई भएको उल्लेख गर्दै यसलाई प्राथमिकता दिएर काम अगाडी बढाउन निर्देशन दिए । “विभिन्न कारणले बाँधको निर्माण कार्यमा ढिलाई भएको छ, यो कार्यलाई छिटो सुरु गर्नेतर्फ ध्यान दिनुपर्छ,” घिसिङले भने ।
कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरण श्रेष्ठले आयोजनाको प्रगतिबारे जानकारी गराएका थिए ।
प्याकेज १ अन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका कामका लागि तयारी थालिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँग सम्झौता गरेको थियो ।
आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रकृयामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैङ्कको खरिद निर्देशिका अनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।
आयोजना प्रमुख अच्युत घिमिरेले प्याकेज १ अन्तर्गतको कामका लागि मोवाइल क्रसर प्लाण्ट निर्माण, खोला क्रसिङ गर्ने काम भइरहेको जानकारी दिए । प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरु गरिरहेको छ । जसअनुसार हाल पाँच ठाउँमा काम भइरहेको छ । आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका काम भइरहेको छ । प्याकेज ३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामले पनि तीव्रता पाएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।