काठमाडौं : कोपा अमेरिका विजेता अर्जेन्टिनाले अर्को वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको छ । बुधबार बिहान इक्वेडरले चिलीलाई २–० ले हराईदिएपछि अर्जेन्टिनाको कतार यात्रा पक्का भएको हो ।
आजै लियोनल मेसी चोटमुक्त भएर टोलीमा फर्किएको खेलमा अर्जेन्टिनाले ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो । बराबरीसँग अर्जेन्टिनाले विश्वकप छनोटका लागि अर्को खेलसम्म कुर्नुपर्ने भएको थियो । तर इक्वेडरले दश खेलाडीमा सिमित चिलीलाई हराइदिएपछि अर्जेन्टिनाको विश्वकपमा स्थान पक्का भएको हो । चिलीसँगै कोलम्बिया र उरुग्वेले पनि जित निकाल्न असफल भएपछि अर्जेन्टिनाको बाटो खुलेको हो ।
२७ खेल सम्म अपराजित रहेको अर्जेन्टिना लगातार १३औं पटक विश्वकपमा छनोट भएको हो । १९७८ यता अर्जेन्टिनाले सबै विश्वकप खेलेको छ । दक्षिण अमेरिकाबाट यसअघि ब्राजिलले विश्वकपमा स्थान बनाइसकेका छन् ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा पनि खेले उनको यो लगातार पाँचौं विश्वकप हुनेछ । अर्जेन्टिनाले १९७८ र १९८६ मा दुई पटक विश्वकपको उपाधि जितिसकेको छ । डियागो म्यारोडोनाको पालमा १९८६ मा विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाले उपाधि जित्न सकेको छैन ।
गत संस्करणमा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो । २०१४ को विश्वकपमा फाइनल पुगे पनि जर्मनीसँग हारपेपछि उपाधिबाट बञ्चित भएको थियो ।