


एजेन्सी : बार्सिलोनाका नयाँ म्यानेजर ज्याभीले आफ्नो पहिलो खेलमा जीत हासिल गर्न सफल भएका छन् । शनिबार भएको क्याटालान डर्बीमा बार्साले एस्पानियोलमाथि १-० को झिनो अन्तरको जीत हासिल गर्न सफल भएको हो ।
खेल बार्सिलोनाले जीते पनि गोलका अवसरहरू भने एस्पानियोलले धेरै बनाएको थियो । दोस्रो हाफमा ती अवसरहरूलाई गोलमा परिणत गर्न सकेको भए एस्पानियोलले खेल सजिलै आफ्नै पक्षमा पार्न सफल हुन्थ्यो । अन्ततः दोस्रो हाफको सुरुवातमा मेम्फिस डिपायले पेनाल्टीबाट गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो ।
जीतसँगै बार्सिलोना लिगको छैटौँ स्थानमा उक्लिएको छ । १३ खेलबाट बार्सिलोनाको २० अङ्क रहेको छ । अब बार्सिलोनाले मंगलबार च्याम्पियन्स लिगमा बेनफिकाको सामना गर्नेछ । आफ्नो घरेलु मैदानमा बेनफिकालाई पराजित गरे टोली नकआउट चरणमा प्रवेश गर्नेछ । शनिबार नै भएका अन्य खेलमा चौथो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले ओसासुनालाई १-० गोल अन्तरले पराजित गर्यो । सेल्टाभिगो र भिल्लेरियाल तथा सेभिया र आलाभेस भने बराबरीमा रोकिए ।