पोखरा : नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनबाट नवनिर्वाचित टिमले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षलाई ‘ठूलो राहत’ दिएको छ। जिल्ला अधिवेशनमा आफ्नो पकड गुमाएर धर्मराएको पौडेलपक्षलाई गण्डकी प्रदेश अधिवेशनले आशा जगाएको छ।
पदाधिकारीमा एक जनाबाहेक सबै पदमा पौडेलपक्षका उम्मेदवारले जित निकालेका छन्। अर्कोतर्फ संस्थापनपक्षका ‘हेभिवेट’हरुले नै प्रदेशमा हार बेहोर्नुपरेको छ। केन्द्रबाट प्रदेश सभापतिमा उठ्नका लागि तल झरेका अर्जुनप्रसाद जोशीलाई क्षेत्रीय नेता शुक्रराज शर्माले पछि पारेका छन्। जोशी आफूमात्रै हारेनन्, उनको प्यानलमा रहेका अधिकांशले पराजय भोगे।
पौडेलपक्ष तुलनात्मक रुपमा सहज मानिएका कास्की, लमजुङ, तनहुँलगायतका जिल्लामा सभापतिमा पराजित भएको थियो। गृहजिल्लामा आफूपक्षीय सभापति हारेपछि पौडेललाई प्रदेशमा जित निकाल्न थप दबाब परेको थियो। जिल्ला नेतृत्वमा कमजोर महसुस भएको आकलन गरेको पौडेलपक्षले आफ्नो शक्ति गण्डकीमा केन्द्रित गरेको थियो। त्यही भएर प्रदेश अधिवेशनअघि वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु जीवन परियार, धनराज गुरुङलगायतका नेताहरु पोखरा ओर्लिए।
उम्मेदवार चयनका लागि पौडेलपक्षलाई सहज भने भएन। सभापतिका आकांक्षी धेरै देखिए। शीर्ष तहका नेताहरुको लम्बेतान बैठकपछि पौडेलले नै सभापतिको उम्मेदवारमा शर्मालाई उठाउने घोषणा गरे। त्यसो त पौडेलपक्षबाट भन्दा दुई दिनअघि नै संस्थापनपक्षले आफ्नो प्यानल घोषणा गरिसकेको थियो।
पोखरामा नेता पौडेल र महामन्त्री कोइरालाले डेरा जमाएपछि पौडेलपक्ष एक ढिक्का भएर आफ्नो उम्मेदवार जिताउन लागे। आफ्नै समूहबाट पार्टीको आन्तरिक निर्वाचनमा अन्तर्घात भएन। जिल्ला सभापतिमा ‘अनपेक्षित लाभ’ पाएर उत्साहित संस्थापनपक्ष हार स्वीकार्ने अवस्थामा पुग्यो।
सभापतिमा केन्द्रबाट प्रदेश झरेका जोशी हारे। पदाधिकारीमा जोशीसहित सात जना हारे। उपसभापतिका उम्मेदवार मेखलाल श्रेष्ठले भने देउवापक्षबाट जित निकाले। पदाधिकारीमा संस्थापनको ‘नाक जोगाइदिने’ श्रेष्ठ एक्ला हुन्। संस्थापनपक्षका नेता गोपालमान श्रेष्ठनिकट मेखलाल प्रदेश सभामा मन्त्रीसमेत छन्। देउवापक्षबाटै महामन्त्रीमा भिडेका गण्डकीका अर्का मन्त्री कुमार खड्काले भने पराजय भोगे। खड्काले अखण्ड पार्टीलाई कांग्रेसमा विलय गराएका थिए।
उपसभापतिमा प्रतिस्पर्धा गरेका नेत्रबहादुर महत संस्थापनपक्षबाट पराजित भए। त्यस्तै, महामन्त्रीमा प्रतिस्पर्धी बनेका ईश्वर पाण्डे, सहमहामन्त्रीका उम्मेदवार ओमकला गौतम, झुलबहादुर आले र राजनराज पन्तले पनि हार ब्यहोरे।
शर्मा प्यानलबाट पदाधिकारीमा पराजित हुनेमा उपसभापतिका उम्मेदवार हरिप्रसाद श्रेष्ठ एक्ला बने। आठ जना पदाधिकारीमध्ये पौडेल समूहका सात जनाले जित निकाले। उपसभापतिमा कल्पना तिवारी, महामन्त्रीमा विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्री तीन जनामा कोपिला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डे संस्थापनइतर (पौडेल)पक्षबाट विजयी भए। (नेपाल लाइभ)