भानुजन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउने श्रममन्त्री श्रेष्ठको योजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुजन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउने श्रममन्त्री श्रेष्ठको योजना

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७८, मंगलवार

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजना अघि बढाएकाे बताएका छन् ।  भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नु बाहेक उल्लेखनीय काम हुन नसकेको अवस्थामा मन्त्री श्रेष्ठले चुँदी रम्घामा पुर्वाधार निर्माण, प्राकृतिक सौन्दर्यकरणको माध्यमबाट साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने योजना अघि बढाएका हुन् ।

    तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री श्रेष्ठले भानुजन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वर्द्धन र विकासका लागि सरोकारवालाहरुसँग छलफल गरी योजनावद्ध रुपमा काम अघि बढाइने बताए।

    चुँदी रम्घालाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सहयोग गर्ने जनाएको छ । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले रम्घामा आदिकवि भानुभक्तको विश्वकै ठुलो पुर्णकदको सालिक निर्माण गरिने बताए।

    मन्त्री श्रेष्ठको योजना सफल बनाउन आदिकवि जन्मघर शिखर कटेरीमा विश्वकै ठुलो पुर्णकदको सालिक निर्माण गर्न लागिएको उनले बताए । विकसित मुलुकका प्रतिष्ठित साहित्यकारहरुका स्मृतिलाई संरक्षण गर्ने गरिएको बताउनुहुँदै अधिकारीले भानुभक्तको परिचय र योगदानलाई जीवन्त राख्न पुर्णकदको सालिक बनाउन लागिएको बताए। तनहुँमा जन्मिएको भएपनि राष्ट्रकै गौरव भएकाले आदिकवि भानुभक्तको सम्झनामा पुर्णकदको सालिक निर्माणको योजना अघि बढेको उनकाे भनाइ छ ।

    पुर्णकदको सालिक निर्माणसँगै अन्य सम्पदाहरुको संरक्षण र विकासले चुँदी रम्घाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने मन्त्री श्रेष्ठको विश्वास छ । आदिकवि भानुभक्त आचार्यको जन्म बि.सं. १८७१ असार २९ गते तनहुँको जिल्लाको चुँदी रम्घामा भएको हो । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी रामायणलाई पठनीय बनाएका थिए । आदिकवि भानुभक्तलाई नेपाली संस्कृति, भाषा र एकताका धरोहर मानिन्छ ।