


दमौली, ८ जेठ । व्यास नगरपालिकाले जेठ १० गतेदेखि सफासडक क्षेत्रमा सवारी पार्किङ निषेध गर्ने तयारी गरेपछि स्थानीय व्यापारीहरूले असन्तुष्टि जनाएका छन् ।
नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा सडकलाई दुईतर्फी सञ्चालन गर्ने उद्देश्यले सफासडकमा पार्किङ रोक्ने निर्णय गरेको हो । तर, व्यापारीहरूले उक्त निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने बताएका छन् ।
सफासडक क्षेत्रका व्यवसायीहरूले पार्किङ निषेध गरिए ग्राहकको आवतजावत घट्ने र व्यापार कमजोर हुने चिन्ता व्यक्त गरेका छन् ।
व्यापारीहरूले नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै निर्णय पुनर्विचार गर्न आग्रह गर्ने तयारी गरेका छन् । साथै, व्यवसायमै असर पर्ने गरी कुनै पनि निर्णय नगर्न नगरपालिकासँग माग गरेका छन् ।
यता, नगरपालिकाले भने ट्राफिक व्यवस्थापन, सडक सुन्दरता तथा सवारी आवागमन सहज बनाउन यस्तो निर्णय आवश्यक रहेको जनाएको छ ।
