सरकारी सेवा प्रभावकारी बनाउन सांसद न्यौपानेद्वारा कार्यालय अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारी सेवा प्रभावकारी बनाउन सांसद न्यौपानेद्वारा कार्यालय अनुगमन

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०८३, शुक्रबार

    दमौली, ८ जेठ । तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले शुक्रबार जिल्लाका विभिन्न सरकारी कार्यालयहरूको अनुगमन गरेका छन् ।

    सांसद न्यौपानेले तनहुँको सदरमुकाम दमौलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तथा भूमि प्रशासन कार्यालय (मालपोत) को अनुगमन गर्दै सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

    अनुगमनका क्रममा उनले सरकारी कार्यालयहरू जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको उल्लेख गर्दै सेवामा ढिलासुस्ती, अनावश्यक झन्झट तथा बेथिति अन्त्य गर्न आग्रह गरे । “जनताका कामलाई प्राथमिकतामा राखेर जिम्मेवार ढंगले सेवा दिनुपर्छ,” उनले भने।

    सांसद न्यौपानेले सरकारले जारी गरेका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै पारदर्शी र जनमैत्री सेवा प्रवाह गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन् । साथै कार्यालयमा आउने सेवाग्राहीलाई सम्मानजनक व्यवहार गर्न र सुशासन कायम गर्न पनि उनले जोड दिए ।

    कार्यालय प्रमुखहरूले कार्यालयको वर्तमान अवस्था, जनशक्ति अभाव, सेवा प्रवाहका चुनौती तथा भइरहेका कामबारे सांसद न्यौपानेलाई जानकारी गराएका थिए ।