काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित तीनवटा मतदान स्थलमा एकसाथ मतदान सुरु भएको हो।
राष्ट्रिय सभा गृह, भृकुटी मन्डपको मैदान र भृकुटी मन्डपको हलमा मतदान सुरु भएको हो। तीनवटा मतदान स्थलमा गरि ११ सय वटा बुथ रहेका छन्। देशभरबाट आएका ४ हजार ७ सय ४३ जना प्रतिनिधीले एक सय ३४ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछन्।
कांग्रेसको सभापतिका लागि पाँचजना, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ।
गएको शनिबार पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गरेका थिए ।
पदाधिकारीमा उम्मेदवारी दिएका दुईजना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले आइतबार मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंह प्यानल बनाएर प्रतिस्पर्धामा छन् ।