दुलेगाैडा । पढाई, जागिर र सुविधा खोज्दै शहर झर्नेको लर्कोले गाउँ रित्तियो । गाउँको एक दर्जन परिवारले थातथलोलाई चटक्कै माया मारेर सुविधा भएको ठाउँ रोजे । वर्षाैदेखि रित्तिएको गाउँका घर ढले, खेतबारी बाझिए ।
गाउँ छोड्ने लहर चलिरहेको बेला उकालो चढेर रित्तिएको वस्तीमा फर्कने चेष्टा कस्ले गर्ने र ? खण्डहर बनेको घरबारी देख्दा युवा व्यवसायी दिपेन्द्र पौडेलको मन भतभती पोल्यो । दुलेगौँडा बजारमा अफसेट प्रेस सञ्चालन गर्दै आएका पौडेलले आफु जन्मिएको थलोलाई उजाडिएको देख्न सकेनन् । घरबारी जंगलमा परिणत भएको टुलुटुलु हेर्न मनले मानेन् ।
गाउँघर छोडेको १७ वर्षपछि उनी जन्मिएको घर, हुर्किएको गाउँमा सम्भावनाको सपना बुन्न थाले । र शुक्लागण्डकी नगरपालिका–३ तपरगाउँमा फर्किएर घरबारी पाखापखेरालाई गुल्जार बनाउन टपरी रिसोर्ट सञ्चालनमा ल्याएका छन् । एक्लिएको गाउँलाई फेरी पुरानै स्वरुप दिने पौडेलको प्रण गरेका छन् ।
‘बस्ती रित्तिएर गाउँघर उराठ लाग्ने भएको थियो । घरहरु भत्कदै थिए । बारी बाझिएर जंगल बन्दैथ्यो । गाउँको सम्भवानालाई उजागर गर्न सक्नुपर्छ भनेर गाउँ फर्किएर रिसोर्ट सञ्चालन गरेको छु’, उनले भने । अब युवाहरु शहर केन्द्रित नभई गाउँ फर्किएर सम्भावनाको खोजी गर्न सक्नुपर्ने उनको बुझाई छ । उजाडिएको गाउँमा सम्भावना देखेर सञ्चालन गरेको रिसोर्टमा उनले करिब ५० लाख रुपैयाँ लगानी गरेको बताउँछन् । पूर्वाधार थप्ने क्रममै रहेकाले लगानी अझै बढ्ने उनको भनाई छ ।
शहरको कोलाहाल र धुवाँधुलोबाट मुक्त हुदै रिफ्रेस हुनका लागि आफूले सञ्चालन गरेको रिसोर्ट उपयुक्त रहेको उनको दाबी छ । दुलेगौँडा बजारबाट ६ किलोमिटर पर रिसोर्ट सञ्चालन गरिएको छ । दुलेगौँडा हर्कपुर मोटरमार्ग हुदैँ टपर गाउँ पुगिन्छ । पौडेलले पुख्र्यौली पाँच रोपनी जग्गामा रिसोर्ट सञ्चालन गरेका छन् ।
स्थानीय अर्गानिक उत्पादनमा पाहुनाले स्वाद फेर्न पाउनु रिसोर्टको मुख्य विशेषता हो । सुर्योदय र सुर्यास्तको मस्त दृश्यपान रिसोर्टबाट गर्न सकिन्छ । तरेली परेको पहाडका थुम्का, हरियाली वनजंगल र गाउँले परिवेशले रिसोर्टमा आउने पाहुना मन लोभ्याउनेछ । पर्यटकीय गाउँ दगाम भुजिकोटबाट टपर गाउँ नजिकै पर्दछ । रिसोर्टको पुर्वाधार थपसँगै अब अर्गानिक उत्पादनमा जोड दिने पौडेल बताउँछन् ।
शुक्लागण्डकी नगरपालिका–३ जाम्दीमा दुई सय रोपनी जमिनमा अर्गानिक तरकारी खेती गर्ने उनले जानकारी दिए । तरकारी खेतीका लागि पौडेलले अन्य दुई जनासँग सहकार्य गर्ने बताए । रिसोर्टको आइतबार बरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले उद्घाटन गरे । उनले पोखराबाट नजिक भएकाले रिसोर्टको भविष्य उज्जवल देखेको बताए । रिसोर्टले स्थानीय गाउँमा भएको उत्पादनलाई उपयोग गर्नुपर्न उनको भनाई छ । ‘रिसोर्टले गाउँघर फर्कने वातावरण सिर्जना गरेको छ । इच्छाशक्ति भएमा गाउँमै पनि केही गर्न सकिन्छ’, उनले भने ।
लोक गायक शंकर पन्तले वैदेशिक रोजगारीले गाउँ रित्तिकै बेला फर्किएर गाउँमा रिसोर्ट सञ्चालन गर्नु प्रशंसनिय रहेको बताए ।
रातमाटा टोल विकास संस्थाका अध्यक्ष गोकर्ण कुवँर गाउँमा अब युवाहरु फर्कनुपर्ने बेला आएको बताए ।