पत्रकार जिम्मेवार र निष्पक्ष हुनुपर्छ : पूर्वमन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार जिम्मेवार र निष्पक्ष हुनुपर्छ : पूर्वमन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७८, बुधबार

    दमाैली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले पत्रकार जिम्मेवार र निष्पक्ष बन्नुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाको बुधबार आयोजित नवौ अधिवेशनको उद्घाटन गर्दै गुरुङले पत्रकारिता क्षेत्र संवेदनशील रहेकाले पत्रकार जिम्मेवार र निष्पक्ष बन्नुपर्ने बताएका हुन् ।

    राज्यको चौथो अङ्गको रुपमा रहेका पत्रकारले सदैव सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउँदै गुरुङले भने, “पत्रकारिता जगतले सधै राज्यलाई खबरदारी गर्नुपर्छ, पत्रकारिता जगतबाट पनि अन्याय हुन सक्ने भएकाले त्यसतर्फ चनाखो बन्नुपर्छ ।” गुरुङले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा पत्रकारिता क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने धारणा राखे ।

    देश निर्माणमा साझा एजेण्डा बोकेर अगाडी बढ्नुपर्ने बताउँदै गुरुङले भने, “समृद्ध नेपाल निर्माणका लागि सोच हुनुपर्छ भनेर भनिराखेका छौ, तर त्यो सोच भनेको के हो स्पष्ट हुनु जरुरी छ । समाजवाद स्थापना गर्ने अभियानमा सबै लागौ ।” लोकतन्त्र र परिवर्तनका लागि सञ्चारजगतबाट खेलिएको भूमिका अतुलनीय रहेको गुरुङको भनाई थियो ।

    नेकपा एमाले केन्द्रीय कमिटी सदस्य भगवती न्यौपानेले समाज परिवर्तनमा सञ्चारकर्मीको महत्वपूर्ण योगदान रहेको बताइन् । नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र निवर्तमान अध्यक्ष केदार सिग्देलले पत्रकारिता क्षेत्रको विकासमा एमाले सदैव प्रतिबद्ध रहेको बताए ।

    नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्लेले सञ्चारमाध्यमलाई सङ्घीयता नआएको बताउँदै स्थानीय सञ्चारमाध्यम सङ्कटमा रहेको बताए । पत्रकार जहिल्यैपनि व्यावसायिक बन्नुपर्नेमा जोड दिँदै उनले भने, “पत्रकारमाथि नै औला ठड्याउने स्थिति आउन दिनुहुँदैन ।”

    नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले महासङ्घमा शुद्धिकरण आवश्यक रहेको बताए । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई, प्रेस युनियनका अध्यक्ष अमरराज नहर्की, प्रेस सेन्टरका अध्यक्ष एसवि नेपाली, फोनिजका अध्यक्ष किरण श्रेष्ठ, सञ्चारिका समूहका अध्यक्ष सम्झना रसाइली, क्रियाशील पत्रकार महिला तनहुँका निवर्तमान अध्यक्ष अञ्जना तिमिल्सना लगायतले पत्रकारिताका समस्याका बारेमा धारणा राखेका थिए ।