तनहुँमा पुनः बढ्न थाल्यो कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा पुनः बढ्न थाल्यो कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७८, शुक्रबार

    दमाैली ।तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । केही दिन अघिसम्म तीन वटा स्थानीय तहमा मात्रै सक्रिय सङ्क्रमित रहेकामा बिहीबारसम्म छ स्थानीय तहमा सक्रिय सङ्क्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शङ्करबाबु अधिकारीले कोरोना सङ्क्रमित बढ्न थालेको बताउँदै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको जानकारी दिए । भानु नगरपालिकामा पाँच, व्यास नगरपालिकामा छ, शुक्लागण्डकी नगरपालिकामा एक, भिमाद नगरपालिकामा दुई, ऋषिङ गाउँपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा चार सक्रिय सङ्क्रमित पुगेका छन् । जिल्लाका चार पालिका भने कोरानामुक्त भएका छन् । बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, घिरिङ र म्याग्दे गाउँपालिका कोरोनामुक्त भएका छन् ।

    तनहुँमा पाँच हजार चार सय जनालाई कोरोना सङ्क्रमण भएकामा पाँच हजार दुई सय ५१ निको भएका छन् । वैशाख १ गतेदेखि यता एक सय ३० सङ्क्रमितको मृत्यु भएको छ ।

    ६८ प्रतिशतले लगाए पूरा खोप

    तनहुँमा १८ वर्ष उमेरभन्दा माथिका ६८.६ प्रतिशतले कोरोना विरुद्धको पूरा खोप लगाएका छन् । कार्यालयका अनुसार १८ वर्षमाथिका दुई लाख २९ हजार तीन सय ४७ जनामध्ये एक लाख ५७ हजार दुई सय ८१ ले कोरोना विरुद्धको पूरा खोप लगाएका छन् ।

    त्यस्तै १२ देखि १७ वर्ष उमेरसम्मका ८०.७ प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । ३९ हजार चार सय ३४ मध्ये ३१ हजार आठ सय १२ ले मोडर्ना खोप लगाएका हुन् ।

    कार्यालयका अनुसार भानुका २१ हजार सात सय ५५? व्यासका ४८ हजार तीन सय १५, म्याग्देका ११ हजार आठ सय ७३, शुक्लागण्डकीका १५ हजार पाँच सय ५३, भिमादका १५ हजार तीन सय १२, घिरिङका छ हजार सात सय ६८, ऋषिङका नौ हजार ५३, देवघाटका छ हजार पाँच सय ६३, बन्दीपुरका नौ हजार चार सय र आँबुखैरेनीका १२ हजार छ सय ८९ ले पूरा खोप लगाएका छन् ।

    यसैगरी भानुका तीन हजार दुई सय २०, व्यासका आठ हजार नौ सय ५७, म्याग्देका एक हजार चार सय ६४ र शुक्लागण्डकीका पाँच हजार सात सय ८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन् । भिमादका दुई हजार आठ सय ७९, घिरिङका एक हजार तीन सय १८, ऋषिङका दुई हजार एक सय २५, देवघाटका एक हजार पाँच सय ३४, बन्दीपुरका दुई हजार दुई र आँबुखैरेनीका दुई हजार पाँच सय २५ जनाले मोडर्ना खोप लगाएको कार्यालयले जनाएको छ ।