ज्यामरुक—कोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    ज्यामरुक—कोट

    खबरपुञ्ज संवाददाता

    ३० पुष २०७८, शनिबार

    १, विषयप्रवेश

    मिर्लुङकोट भित्र ज्यामरुककोट, रुपाकोट, चोकचिसापानीकोट, पूर्कोट र क्यामिनकोट जस्ता प्रमुख कोटहरु रहेका छन् । साविक मिर्लुङ गाउँ विकास समितिमा मिर्लुङ र ज्यामरुक बयापानी गाउँ पञ्चायत भित्रका क्षेत्रहरु समावेस रहेका छन । पश्चिममा मादी नदी देखि पूर्वमा मरस्याङदी नदी सम्म फैलिएको यस महाभारत पर्वत श्रृङखलाका अतिरमणीय स्थलहरुमा तनहुँकै सर्वाधिक दोश्रो अग्लो चुचुरा मिर्लुङकोट पर्दछ । मिर्लुङकोटको काखैमा अवस्थित ज्यामरुक बयापानी भञ्ज्याङको पश्चिम तर्फ हेल्थपोष्ट, भञ्ज्याङको पूर्वतर्फको स्थानमा माध्यामिक विद्यालय र सो भन्दा पश्चिमको चूचुरोमा अधिकारी क्षत्रीहरुको कुलयानन थान र पूर्वको चुचुरामा ज्यामरुककोटे थुमथुमे राजाको दरवार रहेको कुरा यहाँको स्थानीय वासिन्दा हरिराम थापा मगरले बताए । यहाँ रहेको कालिका मन्दिर र दरवारको भग्नावशेषले ज्यामरुककोटमा पनि थुमथुमे राजाको दरवार थियो भन्न करै लाग्दछ । यो कालिका मन्दिर कहिले बन्यो कस्ले बनायो भन्ने विषयमा तिथि मिति र बनाउने व्यक्ति वा संस्थाको नाम जानकारी प्राप्त हुन नसके पनि मन्दिरको गाह्रो ढुङ्गा र माटोको जोडाइ भएको, स्लेट ढुङ्गाले छाना छाइएको र ढुङ्गाको गजुर राखेर परम्परागत ढाँचामा निर्माण गरिएको यस मन्दिरमा आजसम्म पनि ज्यामरुक कोटेहरु बडा दशैं र चैते दशैंका सप्तमी तिथिमा फूलपाती भित्र्याउने, अष्टमी र नवमीका दिनमा ढुङ्गाकै शिलालाई दैवीशक्ति मानी राँगा, भेडा, बोका, हाँस र कुखुराको जीब बलि चढाई वरददायिनी कालीको पूजाआजा गर्दै आएका छन् ।

    ज्यामरुककोट काली मन्दिर

    यस क्षेत्रका भक्तहरुले चिताएको मनोकांक्षा (भाकल) पुरा हुने भएकाले यहाँका मानिसहरुमा देवी प्रति अगाध स्नेह र सदभाव रहेको पाउँदछौं । काली भगवती प्रति आस्थान्वित भू.पु.सेनानी श्री भरतचन्द्र अधिकारी , श्री गणेश बहादुर खड्का , श्री जवर सिंह खड्का , श्री विष्णु बहादुर अधिकारी , श्री प्रेम बहादुर अधिकारी र श्री हर्क बहादुर अधिकारीहरुको सक्रियातामा कालीको मूर्ति मन्दिरमा स्थापना गर्ने विषयमा दिल्लीमा जम्मा भएका ज्यामरुके दाजुभाइ बीच मिति २०५० साल असोज १३ गतेका दिन मतैक्य भएको थियो । अन्ततः २०५० साल फागुन १६ गते कालिकाको मूर्ति काठमाण्डौमा ल्याइएकोमा सोही सालको चैत १ गतेका दिन चन्द्रावती देखि ज्यामरुककोटका हरेक गाउँ गाउँमा ज्यामरुककालीको मूर्तिकों शोभायात्रा गराई मन्दिरमा मूर्ति प्रतिष्ठापन गरिएको थियो । कालीको नयाँ मूर्ति आए पछि ज्यामरुक कोटकालीको नयाँ मन्दिर निर्माण गर्ने विषयमा ज्यामरुक निवासी सबैको सर्बसम्मती भइ हरिबहादुर अधिकारीको अध्यक्षतामा मन्दिर निर्माण उपभोक्ता समिति पनि गठन गरिएको थियो । गाउँलेहरुको सल्लाह सुझाव र सहयोगमा गठित उपभोक्ता समितिले कालीको मन्दिर निर्माण कार्य पनि सम्पन्न गरेको छ । ( श्रोत —ज्यामरुककोट थामी अधिकारी क्षेत्रीको वंशावली — अ. प्रा. सहसेनानी भरतचन्द्र थामी अधिकारी ) ।

    २, ज्यामरुक नाम रहनाका कारणहरु

    पश्चिम प्युठान, म्याग्दी र यस्को पूर्वमा रहेको धादिङ जिल्लामा पनि ज्यामरुक कोटमा बाइसे तथा चौविसे राज्यहरुको अस्तित्व भेटिन्छ तर तनहुँको ज्यामरुक भन्ने स्थानमा स्वतन्त्र राज्य रहेको छनक मिल्दैन । तथापि ज्यामरुक कोटमा मगरहरु मगर राजा भएको, गुरुङहरु घले राजा भएको र खसराजपुत वंशका थापाक्षत्रीहरु राजा भै ज्यामरुक कोटबाट शासन गरेको दावा गर्दछन् । जो जस्ले त्यहाँबाट राज्य गरेको भए तापनि तनहुँ उत्तरमा अवस्थित ज्यामरुककोटको नाम कसरी रह्यो भन्ने विषयमा अनेक तर्क वितर्कहरु आउन सक्दछन् तथापि निम्न तर्कहरु ज्यादै सान्दर्भिक देखिन्छन ।

    २.१ जामुनाका रुख भएको स्थान भएकोले ज्यामरुक

    ज्यामरुक बयापानी भञ्ज्याङ वरीपरी जामुनाका रुखहरु भएको विशाल जङ्गल नै थियो रे । जामुनाको रुख भएको स्थान भएकोले जामुना—रुख भन्दै जाँदा शव्द अपभ्रँश भई जामुरुख, ज्यामरुख हुँदै ज्यामरुक हुन पुगेको हो भन्न सकिन्छ ।

    २.२, ज्यामरुङ शव्द अपभ्रश भइ ज्यामरुक

    मगर भाषामा खानालाई “ज्या” भनिन्छ । जस्तै मगरढुट भाषामा भात खाइस भन्दा “छो ज्या” भनिन्छ । यसै गरी मराङ भन्नाले भोजभतेर खाने चौर भनिन्छ । दुवै शव्दको संयोजन हुँदा ज्या—मराङ हुन गएको हो । त्यही ज्या—मराङ शव्द अपभ्रँश भई ज्यामरुङ हुँदै ज्यामरुक हुन गएको हो । ( श्रोत —ज्यामरुककोटको ऐतिहासिक वास्तविकता — चन्द्र प्रकाश बानियाँ विकल्प न्यूज )

    २.३ झिमरुक बाट जिमरुक हुँदै ज्यामरुक

    तनहुँका अधिकाँश नदीहरुको नाम मगर भाषाबाट बनेका पाइन्छन । नदीको नामान्तमा डि शव्द जोडिनुमा यो मगराँत क्षेत्रमा पर्दो रहेछ भनेर संकेत गर्दछ । प्युठान झै म्याग्दी, तनहुँ र धादिङमा पनि ज्यामरुक भन्ने ठाउँ भेटिन्छ । मिर्लुङकोट वरपरका अधिकाँश नदीनालाका नामहरुको नामन्तमा “डी” र “ती”अक्षरहरु आउने गर्दछन् । जस्तै चुँदी, कलेस्ती , रिस्ती, करस्याङदी, मरस्याङदी नाउँदी , पाउँदी , फाउँदी आदि भेटिन्छन् । ढुटमगर भाषामा झिमरुक भन्नाले खहरे खोलालाई जनाउँछ । मगरात क्षेत्रकै प्युठान जिल्लामा एउटा झिमरुक खोला रहेको पाउँदछौं । हिउँदको समयमा सुक्का रहने र वर्षादको समयमा गडगडाहट शव्दले बग्ने खहरे खोलालाई तनहुँ मिर्लुङकोट निवासी मगरहरुले पनि आफ्नो बोलचालको भाषामा झिमरुक नै भन्ने गर्दछन् । अन्ततः त्यही झिमरुक शव्द अपभ्रँश भई जिमरुक र जिमरुक शव्द पनि अपभ्रँश भइ ज्यामरुक भनिएको हुनु सक्दछ । ( श्रोत —ज्यामरुककोटको ऐतिहासिक वास्तविकता — चन्द्र प्रकाश बानियाँ विकल्प यूज )

    २.४ झ्यामरुक बाट ज्यामरुक

    मगरढुट भाषामा निलकाँढालाई तानसिङ र बेतको रुखलाई हृसिङ भनिन्छ । प्रसस्त वेत पाइने ठाउँ भएकोले तानसेन र प्रसस्त बेतको रुख पाइने ठाउँ भएकोले त्यस स्थानलाई हृसिङ,रिसिङ भन्दै जाँदा शव्द अपभ्रँश भई ऋषिङ भनिएको हो । यसैगरी मगरढुट भाषामा चरिअमिलोलाइ झ्यामरुक भन्ने गरिन्छ । प्रशस्त चरीअमिलो पाइने ठाउँ भएकोले मगरहरुले यस ठाउँको नाम नै झयामरुक राखि दिए । कालान्तरमा झ्यामरुक शव्द अपभ्रँश भई ज्यामरुक भएको हुनु पर्दछ । ( श्रोत — छवि चिदी ) ।

    २.५ अस्थायी बसोबास गरिने स्थान जिमरुक बाट ज्यामरुक

    पितृपूजाका उपासक खस, किराँत, तमाङ र मगरहरु उधौंली र उभौंली पर्व मनाउने गर्दछन् । प्रकृतिका उपासक खस मगरहरु गतिमा परेका र अगतिमा परेका पितृहरुलाई हाँस, कुखुरा, बोका, तथा भेंडाको साँड मन्साएर बलि दिने गर्दछन् । खेतीपाती, पशुपालन , सर्दी, गर्मीको लय मिलाउँदै उधौंली उभौली उत्सव मनाउने गर्दछन् । बैसाखमा गाउँ, लेक ( उभौंली ) तर्फ लाग्ने र मंसिरमा बेसी .( उधौंली ) झर्ने गर्दछन । जस्लाई पर्वते भाषामा उधौंली उभौंली पनि भनिन्छ । स्थायी रुपमा नवसी ठाउँ सर्दै हिंडने र बस्ने स्थानलाई जिमरुक भन्ने गरेको पाउँदछौं । यही जिमरुक शव्द अपभ्रँश भइ ज्यामरुक भएको हुनु पर्दछ ।

    ३, चारहजार पर्वतका ज्यामरुके थापाहरु बसाइ सरी बसोबास गरेको स्थल हुनाले ज्यामरुक

    वंशावली अनुसार वत्सराज भट्टका जेठा र माहिला छोरा पौडी सतालामा बसेका हुनाले पौडेल बने भने कान्छा छोरा कालु थापाले डोटीको राजवंशबाट थापा पद प्राप्त गरेका हुनाले बगाले थापा बनेका थिए । उनै कालुथापाका छोरा म्याग्दी आएर ४००० कुरियाको एउटा थपौला बनाए । उनका चारभाई मध्ये जेठा पुलामा माहिला ताकममा , साहिंला कुहुँका र कान्छा ज्यामरुकको थपौलामा बसेका थिए । चारै भाई विभिन्न थपौलामा बसेका भए पनि भाइभाइमा राज्य अंश भने लागेको पाईदैन । थापाहरुको संयुक्त राजधानी ताकममा भएको पुष्टि मिल्दछ । तिनै थापाहरुको राज्यमा पर्वते राजा डिम्ब बमले हात पारे पछि केहि थापाहरु मल्लहरुको कजाई स्वीकारी ज्यामरुकमै बसेको र केही थापाहरु पूर्वोत्तर खण्डमा बसाई सर्दै गएको भेटिन्छ । यिनै थापाहरु बसाइ सर्दै सर्दै तनहुँको दलभञ्ज्याङ, पुलीमराङ, ज्यामरुक बयापानी भञ्ज्याङ र चोकचिसापानी लगायतका विभिन्न ठाउँहरुमा छरिएर बसेका थिए । पर्वतको ज्यामरुककोटका जेठा पुलामा थापाका सन्तानहरुको बसाबास गरेको स्थान हुनाले पुलीमराङ भएको हुनु पर्दछ । ज्यामरुकोटबाट आएका कान्छाका सन्तान थापा काजीहरुले बसोबास गरेको स्थानको नाम ज्यामरुक बयापानी हुनु पर्दछ । पाल्पाबाट आएर बसोबास गरेकाहरुको थलो पाल्पाली थोक र श्रीपालबाट आएकाहरुको थलो श्रीकोट भने झैं पर्वत ज्यामरुककोटबाट आएका तिनै थापा काजीहरुले आफ्नो पुस्त्यौली थलो ज्यामरुककोटको विरासत नाम समझेर यस स्थानको नाम पनि ज्यामरुककोट राखेको हुनु पर्दछ । यिनै ज्यामरुके राजा धर्मराज थापाका वंशधर तथा बाघ भिमसिंहका पुत्ररत्न कुलदीपक बडाकाजी जर्नेल अम्मर सिंह थापालाई पश्चिम नेपाल एकिकरण अभियानका सर्वोच्च कमाण्डर, एकिकरणका महानअभियान्ता तथा ज्युँदो बाघ भनेर चिनिन्छ । उनै अमरसिंह थापाले वि.सं. १८९७ मा लमजुङको तान्द्राङकोटको नागभैरव मन्दिरमा घण्टा, धनुषामा राम मन्दिर र कुन्छामा सत्तलपाटी बनाएको किर्तिखम्वाहरु अझ पनि सुरक्षित अवस्थामा रहेका छन् । यसै गरी सोही वंशका राजेन्द्र थापा नेपाल सैनिक इतिहासमा प्रधानसेनापति भएर रिटायर लाइफ बिताउनु भएको छ । पर्वतको ज्यामरुकबाट बसाई सरी आएका थापाहरुले ज्यामरुक वयापानी भञ्ज्याङको आवाद गरी स्कूल पूर्वको जङ्गलमा थापाहरुको थपौलो स्थापना गरेका हुन कि भनि अनुमान गर्न सकिन्छ । यस थपौला भित्र मगर गाउँ, गुरुङ गाउँ ,ब्राह्मण र क्षत्रीहरुको गाउँ रहेको छ । यस गाउँपञ्चायत भित्र बयापानी भञ्ज्याङ, कवाचित , रतनपुर , कोटथर, राइपाली भञ्ज्याङ र रागमती ( घलेछाप) गाउँ रहेका छन् । हाल घलेछाप भन्ने गाउँमा थामे अधिकारी क्षत्रीहरुको अत्यधिक बसोबास रहेको छ ।

    ४, थामे अधिकारी

    भुपाल वंशी राजा अभयमल्लले कार्कीकोटका राजाकी छोरी सँग बिबाह गरे पछि ओइघा लसर्घाको घलेराजालाई मारी त्यहाँको राजा भएका थिए । गोतामकोटकी राजाको छोरी र कार्कीको छोरीबाट जन्मेका अभयमल्लका ( परिवर्तित नाम — हरिहर सिंह ? ) दुबै छोराहरुको नाम देवशर्मा राखियो । कालक्रमले राजा नामजातको स्वर्गे भएकोले भला पाँच र सैचन्द्र तिवारी सहितका मानिस बसी गोतामकोटकी राजकुमारीका तर्फबाट जन्मेका देवशर्माका छोरा अजिल्ल राईलाई रजाई र कार्कीका छोरीबाट जन्मेका छोरा देवशर्माको नाम नरेन्द्र अधिकारी र गोत्र भारद्वाज राखी कज्याई दिएका हुन । उनै अभय मल्लका सन्तानमा मिचाखान (अजयसिंह) र खाञ्चा खानको जन्म भयो । भक्तिखानले नुवाकोटमा आवादी गराई नयाँ राज्य बसाए भने मिञ्चा खानका छोरा विचित्रखान कास्कीका राजा भए । त्यसपछि कास्कीको राजामा विचित्रखानका छोरा नरराज खान र नरराज खानका छोरा जगति खान (कुलमण्डन शाह) गद्धीमा आरुढ हुन पुगेका थिए । कुलमण्डन शाहका जेठा छोरा कालु शाह , माहिला छोरा जलाल शाह , साहिला छोरा चैतु शाह र कान्छा छोरा यशोब्रह्माशाह जन्मिएका थिए । कालु शाहलाई राजा स्थापना गर्न भनेर लमजुङेहरुले लगेका थिए । कालु शाहलाई घलेहरुले छल गरी मारेका हुनाले पुन यशोब्रह्मा शाहलाई लमजुङ दरवारमा लगी राजा स्थापना गरेका हुन् । तत्पश्चात कास्कीका राजा जगतिखानले आफ्ना साहिला छोरा चैतु शाहलाई अर्घौका राजा ( अर्घौका प्रशासक ) को रुपमा नियुक्त गरेका थिए । युवराज जलाल खानको अकालमै मृत्यु भएकाले अर्घौका राजा चैतु शाहले भाउजु स्वरुपावतीलाई स्याहारी कास्कीको राजगद्धीमा बस्ने बिचार गरेका थिए । तर बाबा जगतिखान जिउँदै भएकोले उनको सपना पुरा हुन पाएन । तीन सन्तान मध्ये काजी झागल अधिकारी ( दलशाही ?) कास्कीकोटका काजी भएर रहेका थिए । कास्कीकोटमै काजी अरिन्द्र अधिकारीका तीन छोराहरुका जायजन्म भएको थियो । तिनै तीन भाइ मध्ये काजी झागल अधिकारीले अर्घौका राजा चैतुशाहले भाउजु माथि पाप चिताएको थाहा पाई उनैले कास्कीकोटकी युवराज्ञी स्वरुपावतीलाई गोप्य स्थानमा लुकाएर संरक्षण गरेका थिए । झागल अधिकारीले आफुमाथि षडयन्त्र गरेको सम्झेर अर्घौका राजा चैतु शाहले झागल अधिकारीलाई अर्घौ झिकाएर मृत्युदण्ड दिएका थिए भनिन्छ । कास्कीकोटकी युवराज्ञी स्वरुपावतीबाट छोरा नवराज शाहको जन्म भयो । नवराज शाहको जन्म भएपछि उहाँलाई कास्कीकोटको राज्यका उत्तराधिकारी तोकियो । छोरा कास्कीको उत्तराधिकारी घोषित भए पछि स्वरुपावतीले चैतुशाहलाई अघौंबाट कास्कीकोट झिकाई मृत्युदण्ड दिएर झागल अधिकारी प्रति भएको अन्यायको बदला लिएकी थिइन । उता झागल अधिकारीलाई मारेको ठाउँलाई अझै पनि कास्कीमा झाँझरमारे भनिंदै छ । ( लमजुङ — डा राजाराम सुवेदी प्राचीन नेपाल—अङक ) राजाबाट बाबा झागल अधिकारीको हत्या भए पछि निजका छोराहरु श्याम र मानिक ज्यान जोगाउनका लागि त्यहाँबाट भागेर तनहुँ तर्फको “रिसिङ् हुँदै विसं १६६९मा मिर्लुङकोटको पुलीमराङ हुँदै ज्यामरुक कवाचितमा” (श्रोत तनहुँको फूलवारी— धर्मराज थापा ) आइबसेका थिए । ज्यामरुक आई बसेका अधिकारीहरुको पुरगाउँ लमजुङमा प्रसस्त खेतबारी रहेको थियो । ( श्रोत—सुजन शाही—ज्यामरुककोट थामी अधिकारीको वंशावली ) सायद इतिहासकार डा.राजाराम सुवेदीका अनुसार एक भाइ ज्यामरुक कोट र अर्को भाई लमजुङको निभारचोक (पुरगाउँ र्?) आइबसेका थिए भन्नु भएको छ । अर्को तर्फ धर्मराज थापाले तनहुँको फूलवारीमा मानिक र श्याम अधिकारी ज्यामरुककोट आइ बसोबास गरेका थिए भनी उल्लेख गर्नु भएको छ ।

    थामे अधिकारी पद कसरी रह्यो यो बारेमा ज्यामरुककोट अ.प्रा.सहसेनानी भरतचन्द्र थामे अधिकारी लिखित थामे अधिकारीको वंशावली अनुसार नुवाकोटे राजा भक्ती शाही बाट कनकबम शाहीको जन्म भयो । कनकबम शाहीबाट सुजान शाहीको जन्म भयो । सुजान शाहबाट खौ सिंह, दल सिंह र हरि सिंह नामका तीन छोराहरु भएका थिए । लमजुङ्गे राजा संँग वैरभाव बढदै गएकोले युद्धको बादल मढारिंदै गयो । त्यही बेला राजा कनकबम शाहीले छोरा सुजानशाहीको नेतृत्वमा लमजुङ हान्न सिपाही पठाए । सुजान शाहको नेतृत्वको सेनाले लमजुङलाई पराजयको मुख चखाएकोले राजा साहै्र नै खुसी भए । आफुले दिएको अधिकार थामी नुवाकोटको इज्जत थामी राखेकोले राजाबाट सुजान शाहीलाई थामे अधिकारी पद दिइएको हो भन्ने भनाई पनि रहेको छ । तिनै थामे अधिकारीका सन्तानहरु मध्ये दाजु माणिक लमजुङ राजदरवारमा र भाई श्यामका तनहुँसुर राजदरवारमा सेवा गर्दथे भन्ने कुरा थामे अधिकारीहरुको वंशावलीले बताउँछ । उनीहरु हरेक दिन तनहुँसुर दरवार र लमजुङ दरवारमा जागिर खाइ आफुलाई सुम्पिएको जिम्मेवारी फत्ये गरी संधै बेलुका घर फर्कन्थ रे । लमजुङ दरवारमा जागिर खान जाने मानिक अधिकारीले हरेक दिन ज्यामरुकबाट गाउँशहर जाँदा एउटा ढुङ्गा र गाउँ शहरबाट घर फर्केंर आउँदा पाउँदी खोलाबाट एउटा एउटा ढुङा बोकेर मानेचौकामा ढुङ्गा थुपारेर राख्ने गर्दथे रे । त्यसरी थुपारिएको ढुङ्गाबाट बनाइएको चौतारा भएकोले सो चौतारोको नाम नै मानिक चौतारो भन्न थालियो । कालन्तरमा त्यही मानिक चौतारो शव्द अपभंँ्रश भइ कालन्तरमा मानैचौका हुन गएको हो भन्ने जनश्रुति रहेको छ ( श्रोत— तनहुँको फूलवारी —धर्मराज थापा ) ।

    अर्को तर्फ भाई श्याम सधंै तनहुँुसुर दरवारमा सेवा गरेर प्रत्येक दिन घर फर्कन्थे रे । यसरी घर फर्कदा एक दिन कलेस्तीको सिरानमा आइपुगेका श्यामको छायाँले भूतको बालक बिरामी भयो रे । भूतले धामी लगाई छोरालाई फूकफाक गर्दा छोडदे मनुवा छोडदे भनेर मन्साउन लाग्यो रे । श्याम पनि त्यही बेला टुप्लुक्क त्यहाँ आई पुगेको हुनाले मलाइ सय धार्नीको वनेल दिएमा मात्र छोड्छु नत्र नखाइ छोडदिन भन्दा भूतले वनेल (सुंगुर ) ल्याएर श्यामलाई अर्पण गरे पछि बालकको ज्वरो शान्त भयो रे । भूतले सुंँगुर दिएको स्थान भएकाले आजकल पनि कलेस्तीको शिरलाई सुंगुरेभञ्ज्याङ भनिंदै छ । ( श्रोत तनहुँको फूलवारी —धर्मराज थापा ) अहिले तिनै थामे अधिकारीहरु मानेचौका ,ज्यामरुक बयापानी भञ्ज्याङ, लम्के, बोक्से, कवाचित (ज्यामिरे), हिलेपानीको तलसालघारी, रागमती (हालःघलेछाप), अर्चलचौर, निर्बु , फराकचौर, दमौली, काठमाण्डौ स्याङ्जा र चितवन तिर पाँजिएका छन् ।

    एक दिन पुरगाउँको खेतमा असार १५ को दिनमा खेतमा रोपाइ भइरहेको थियो । रोपाई भइरहँदा अचानक मध्यान्ह १२ बजेको समयमा बयापानी भञ्ज्याङ पश्चिमको देउराली थुम्कोमा बाजागाजा साथ रातो डोली लिएर कुलायन देवताको सवारी चलिरहेको देखियो रे । अचानक कुलायन सवारीमा संलग्न जनसमुह एकै छिनमा अलपिएको थियो रे । दिनमा त्यस्तो झलक देखिनु र रातमा कुलकै जेष्ठ श्रेष्ठ व्यक्तिलाई सपनामा कुलदेवताले कुलमन्दिर बनाउने स्थान र पूजाविधि सिकाइ दिनु भएको प्रसङ्ग चले पछि सबै दाजुभाई जम्मा भएर देउराली पुगेर कुलमन्दिर बनाउने स्थानको अबलोकन गरेका हुन् । सबैको सरसल्लाहमा पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर ५ फूट जति अग्लो पर्खालले कम्पाउण्ड भित्र ५७ इन्चलम्बाई ५० इन्च चौडाई र ४५ इन्च उचाईका कुलमन्दिर बनाइएको थियो । यहाँबाट जहाँ जहाँ अधिकारी बन्धुहरु पाँजिएका छन प्राय सबै भाइवृन्दालाहरु यहींँ आएर कुलदेवताको पूजा आरधना गर्ने परम्परा रहेको छ ।

    ५,नेपाल रक्त—रञ्जित इतिहासमा भेटिने दुई पात्रहरु

    ५.१ युद्धवीर अधिकारी

    नेपालका इतिहासमा ठूला ठूला काण्डहरु घटेका पाइन्छन् । ति काण्डहरु मध्ये ठूला काण्डहरुमा कोतपर्व र भण्डारखाल पर्व नै पर्दछन् । नेपालमा यस्ता काण्डहरु घटाउनमा वृटिस रेजिडेन्सीको प्रमुख हात रहने गर्दथ्यो । नेपालका भारदारहरुलाई उचाल्ने र पछार्ने काम पनि वृटिस रेजिडेन्सीको प्रमुख कार्य थियो । वृटिस रेजिडेन्सी नेपाल सरकारको शासन सत्तामा आफ्नो पत्यक्ष प्रभाव पार्न मौकाको तलास गरी रहेको थियो । भिमसेन थापा, माथवर सिंह थापा र गगनसिंह खवासको पतन र हत्या गराउनमा वृटिस रेजिडेन्सीले सामदाम दण्डभेद सबैको भरपुर उपयोग गरेको थियो । बृटिस रेजिडेन्सीकै सरसल्लाह र सुझावमा जङ्गबहादुर कुवँरले आफ्ना योजनाहरु अगाडि बढाइ रहेका थिए । जस्को फलस्वरुप वि.सं. १९०३ भाद्र ३१ गते घटेको कोतपर्व र वि.सं. १९०३ कार्तिक १७ गतेका दिन भण्डारखाल पर्व घट्नहरु घट्न पुगेका थिए । यहि पर्वमा नेपाल एकिकरण अभियानमा दिलो ज्यान दिने देशप्रति वफादार रहने वंशको नाश गरिएको थियो । कोतपर्वको घटनालाई सफल बनाउन युद्धवीर अधिकारीले सर्वप्रथम संगिनको टुप्पोले जर्नेल अभिमान सिंह राना मगर माथि प्रहार गरेका थिए । यस्को लगतै राम आले र भीम आलेले चलाएको गोली लागेर मुख्तियार चौतारिया फत्येजङ्ग शाह मरेका थिए । यही पर्वमा बडाकाजी अमर सिंह थापाका छोरा काजी रणजोर थापा, काजी नरसिंह थापा, काजी अर्जुन थापा , चौतारिया खड्ग विक्रम शाह , वीरवाहु शाह लगायत धेरै देशभक्तहरुले ज्यान गुमाउन पुगेका थिए । कोतपर्वलाई सफलता दिलाउन तनहुँ ज्यामरुकका युद्धवीर अधिकारीले जङ्ग बहादुर कुँवरलाई भरमग्दुर सहयोग गरेका थिए । सहयोग गरे बापत युद्धवीर अधिकारीले जङ्गबहादुर कुँवर राणाबाट राम्रै पारितोष पनि पाएका थिए । युद्धवीर अधिकारी सेनामा राम्रै सँग पदन्नोती हुँदै गए । कप्तान सम्मको दज्र्यानी प्राप्त गरे । फौजी सेवा पछि उन्ले न्यायसेवा र अन्त्यमा वन अड्डामा नियुक्ति पाएका थिए । तराई तिरको वनविभाग तर्फ काम गर्दा यिन्ले प्रसस्त धन कमाए । अनैत्तिक कर्मले कमाएको धनलाई यिनका बाबाले घर भित्र राख्नै दिएनन् । त्यही पैसाले युद्धवीरले कवाचितमा महालक्ष्मी मन्दिर निर्माण र चन्द्रावतीमा नैनेश्वर महादेव मन्दिर र लुते वराह मन्दिरको जिर्णोद्धार गरेर पापको प्रायश्चित गरेका थिए । ( श्रोत —अतुल्य विशाल नेपाल —डा. बाबुराम थापा ) ।

    ५.२ रणमेहेर अधिकारी

    कोतपर्वको नरसंहारको सफलता प्राप्त भए पछि जङ्गबहादुर कुंँवरले प्रधानमन्त्रीको पद पाउन सफल भएका थिए । तत्काल परिस्थितिमा जङ्गबहादुर कुँवरले आफ्नो स्थिति मजबुत बनाउनमा बढी ध्यान केद्रित गरेका थिए । कोतपर्वको भयानक घटनाबाट बचेका पुराना शक्तिशाली भारदारहरू र रानीबाट हुन सक्ने सम्भावित खतराबाट आफुलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा नै केन्द्रित रहेका थिए । जङ्गबहादुर कुँवर सम्पूर्ण शक्तिको एकाधिकार आफ्नै हातमा लिने प्रयासको फलस्वरुप शक्तिपुञ्जमा रहेका पुराना भारदारहरुलाई ध्वस्त पार्ने षडयन्त्रको तानावाना बुनी महाशक्तिशाली बन्ने सपना देखेका थिए । अनेक षडयन्त्र र दाउपेचबाट बस्न्यातहरूको शक्तिक्षीण गराउने प्रयासका बाबजुद पनि श्रीपाली बस्न्यातहरू नेपाल दरवारमा सर्वशक्तिमान बनी रहेका थिए । राजभक्त र देशभक्त श्रीपाली बस्न्यात, थापा, पाण्डे आदि जातिहरू रहुञ्जेल नेपाललाई आफ्नो अधिकार भित्र राख्न नसकिने सोच गरी नेपालका राजभक्त तथा देशभक्तहरूलाई एक एक गरी मार्दा समय धेरे लाग्ने र षडयन्त्रको पोलखुल्न सक्ने भयले माथवर सिंह थापा र गगन सिंह खवास जस्ता शक्तिशाली भारदारहरूको निर्मम हत्या गरी कोतपर्व जस्तो सामुहिक हत्याको षडयन्त्र गर्न व्रिटिश दुतावास र नवोदित शक्तिपुञ्जका भारदार जङ्गवहादुर कुँवरको संयुक्त मिलेमतो रहेको बुझिन्छ । रणमेहेर अधिकारी र जङ्गबहादुर कुँवर राणाका बाल सँगाति थिए । सँगाती जङ्गबहादुर राणाको इसारामा ज्यामरुककै रणमेहेर अधिकारीले काजी वीरध्वज बस्न्यातलाई काटेर भण्डारखाल पर्वको श्रीगणेश गरेका थिए । श्री ३ जङ्ग बहादुर कुँवरबाट श्री रणमेहेर अधिकारीले बडाकप्तान पद सम्मको जागिर पाएका थिए । भण्डारखाल पर्वमा काजी वीरध्वजका कान्छो भाइ वीरकेशर सिंह, साहिंला वुवा दरियार सिंहका छोराहरू उम्मेदसिंह र कप्तान मानसिंह मारिए भने निजको पिता वखत सिंह बस्न्यात, काका रणभद्र सिंह र माइलो भाई समरजितहरू भाग्न सफल भएका थिए । यस भण्डार खालमा मारिने अन्य बस्न्यातहरुमा उमेद सिह, कप्तान कोकिल सिंह, सरदार केशरसिंहहरू थिए । अन्यमा कुम्वेदान पुरेन्द्र थापा सरदार दलमर्दन थापा, कुम्वेदान पूर्णधर उपाध्याय कुम्वेदान भक्ति हमाल, सुवेदार वाघसिंह हमाल, जमादार सिंहवीर, लाइन हवल्दार नरजोग राना मगरहरू आदि थिए । उक्त भण्डारखाल पर्वमा ज्यान जोगाई भाग्नेहरूमा बखान सिंह बस्न्यात, जन्मसिंह वस्न्यात, काजी रणवीर राना मगर, सुव्वा रणकेशर खत्री कुम्वेदान कालु थापा, सरदार कृष्णलाल उपाध्याय, डिठ्ठा रूद्रलाल उपाध्याय, सुव्वा धनमान थापा धाई कशी, सुसारे जयशिला, सुसारे रूद्रशोभा, आदि थिए । भण्डारखाल पर्वमा २७ जना व्यक्तिहरुले सहादत प्राप्त गरेका थिए । रक्तरञ्जित भण्डारखाल पर्वका सुत्रधार जङ्गबहादुर राणा र निजको आदेश शिरोधार्य गर्ने पात्र रणमेहेर अधिकारी नै थिए । रणमेहेर अधिकारीले जङ्गबहादुर कुँवरबाट खुफिया विभागका प्रमुख भएर काम गर्ने सुअवसर प्राप्त गरेका थिए । जङ्गबहादुर कुँवरको आर्सिवाद प्राप्त गरेका रणमेहेर अधिकारीले के कती पैसा कमाए र गोत्रहत्याका प्रायश्चितका लागि कुन कुन ठाउँमा मठ मन्दिर बनाएर गुठ राखे सो को केही मेसो पाइएको छैन ।

    ६, गोरखाली सेनापति बलिवानियाले वीरगति पाएको ठाउँ — बलिथुम

    वि.सं. १८३५ साल माघ ११ गतेका दिन गोरखाले तनहुँ राज्यको भूभाग आफ्नो आधिपत्य जमाए पछि तनहुँका राजा कामारीदत्त सेन सहयोगको लागि पाल्पा पुगेका थिए । पाल्पाले आफ्ना भैयादको दुःख टुलु टुलु हेर्न सकेनन् । पाल्पा, पर्वत र तनहुँका संयुक्त सेनाले सोही वर्षको चैत्र ३ गते आक्रमण गरेको थियो । सो युद्धमा गोरखाका सेनापति बलि बानियाँको मृत्यु भए पछि गोरखा सेनाले तनहुँ माथिको आधिपत्य त्यागेर गोरखा फर्केको थियो । पाल्पा, पर्वत र तनहुँको संयुक्त सेनाले गोरखाको सेनापति मारेको ठाउँलाई अहिले पनि बलिथुम भन्ने गरिन्छ । ज्यामरुक वयापानी स्थित माध्यामिक विद्यालयको पूर्व पट्टी रहेको सैनिक अखडालाई बलि थुम भन्ने गरिन्छ ।

    रानी कौशल्याको देश भ्रमण र अमला विर्ता

    मिर्लुङकोट राजाकी रानी कौशल्या एक पटक देश भ्रमणमा निस्किइन रे । मिर्लुङकोट बासपानी टुटेपानी , पोखरीछाप, ठूलढुङ्गा, रयाले, कवाचित र वयापानी भञ्ज्याङ हुँदै रतनपुर नजिकको ओख्लेपानी भन्ने स्थानमा पुगेर बास बसेकी थिइन रे । रानी जुन बाटो ओख्लेपानी पुगिन पुन ः त्यही बाटो मिर्लुङकोट फर्केकी थिइन भनिन्छ । त्यही बेला कौशल्या रानीले ज्यामरुक सिरुवारी, घलेछाप, रतनपुर चोक चिसापानी रुपाकोट, ज्यामरुककोट क्षेत्र भित्र र कवाचित, सतिश्वाँरा, क्यामिन , रयाले, वासपानी, टुटेपानी, पुलीम¥याङ , लव्री (पातेचौर) कुशीम¥याङ, रुपाकोट , मानेचौका आदि क्षेत्र मिर्लुङकोटमा रहेको उद्दघोष गरिन रे । ओख्लेपानी पुगेर फर्केकी रानी कौशल्यलाई टुटेपानी निवासी महिला समुहले हार्दिक स्वागत गरेका थिए रे । आफ्नो देशको रानीलाई त्यहाँका आमा समुहले अमलाको पातको टपरी बुनेर स्थानीय फापर र कोदोको पिठोको लयालु ढिंडो , गुन्द्रुकको तिउन , कालिजको सिकार, तिलको छोप, कोदोको सेलरोटी र अकबरे खुर्सानी टक्र्याएका थिए रे । मिहेनत पूर्व अमलाको पातको टपरी बनाउने को हुन भनी सोधनी हुँदा टुटेपानी महिला समुहले हामी आफैले बनाएको हो भनेर रानीसमक्ष विन्ती जाहेर गरे रे । मेहनती महिलाहरुको कदर गर्दै रानी कौशल्याले उत्तर बाहुन पोखरा र पुलीम¥याङको जङ्गल , दक्षिणमा मिर्लुङ ठूलोढुङ्गा र पोखरीछाप ,पूर्वमा बासपानी रयाले र पश्चिममा दलभञ्ज्याङ यति चार किल्ला भित्रको जग्गा तिरोभरो नलाग्ने गरी अमला विर्ता गरि दिएको कुरा आफ्ना बाजे बराज्युबाट बाजेहरुले, बाजेबाट बाबाले र बाबाको मुखबाट आफुले सुनेको कहानी रुपाकोट गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च प्रेम बहादुर गुरुङले हाम्रो साक्षात्कारमा बताउनु भएको हो । हाल उक्त अमला बिर्ता वि.सं.२०३० सालमा नापी हुँदाको बखतमा त्यहाँका बासिन्दाले उक्त जग्गालाई रैकरमा दर्ता गरेको बुझिएको छ

    ७, अन्त्यमा

    हिंजो के थियो त्यस्को चर्चा भन्दा नि आज के गर्ने भन्ने विषय महत्वपूर्ण हो । पर्यटनको अनुपम भण्डार रहेको ज्यामरुककोट अत्यन्त रमणीय छ । मिर्लुङ पर्यटन सूचना केन्द्र स्थापना गर्ने शुशिलचन्द्र भण्डारी र यस्का उपाध्यक्ष हरिराम थापा ज्यामरुक बयापानी भञ्ज्याङकै हुुनुहुन्छ । मिर्लुङ पर्यटन सूचना केन्द्रको मुख्य कार्यालय रहेको स्थान भएको हुनाले वयापानी भञ्ज्याङमा नै पहिलो मिर्लुङ पर्यटन महोत्सवको आयोजना गरिएको थियो । अन्त्यमा मिर्लुङकोटको दरवारको भग्नावशेष हटाएर नेपाल दुरसञ्चार संस्थानले टेलिकम टावरको व्याट्री घर राखेर मिर्लुङकोट दरवार क्षेत्रको अबमूल्यन गरेको पाइन्छ । छिटो भन्दा छिटो धर्माङ्गद सेनले स्थापना गरेको तथा चन्द्र सेनको चौविसे राज्य मिर्लुङकोटले छिटो भन्दा छिटो न्याय पाओस हाम्रो पनि यही सदिक्षा छ । सबै कुराले परिपूर्ण भएर पनि पर्यटनको हिसावले बयापानी भञ्ज्याङ अझै उपेक्षित नै रहेको छ । अन्यमा यस्को उजागर गर्नमा सबैको ध्यान पुग्ने विश्वास लिएको छु ।