दुलेगाैडा । शुक्लागण्डकी नगरपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक बर्षमा समयमै योजना सम्पन्न गराउनलाई नगरपालिकाले वडा कार्यालयमै पुगेर योजनाको सम्झौता गर्न थालेको हो ।
पहिलो पटक नगरपालिकाका कर्मचारी शुक्लागण्डकी नगरपालिका–१० को वडा कार्यालयमा पुगेर योजना सम्झौता गरेका छन् । प्रशासन शाखा, योजना शाखा, नगरका प्राविधिक र बैंकका प्रतिनिधि वडामै पुगेर योजना सम्झौता गरेका हुन् । वडाबासीलाई योजना सम्झौता गर्न नगरपालिकाको केन्द्रमै धाउनुपर्ने परिपाटीको अन्त्य गर्न वडा कार्यालयमै पुगेर योजना सम्झौता गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए ।
यसरी वडा कार्यालयबाट योजना सम्झौता हुदाँ योजना कार्यन्वयनमा सहज हुने उनले बताए । ‘नगरपालिकाको कार्यालयबाट नियमित योजना सम्झौता भईरहन्छ । यसपाली नगरपालिकामा बार्षिक कार्यक्रम कार्यन्वयन पुस्तिका बनाएर काम गरिएको छ । पुस्तिकामा कुन योजना कहिलेसम्म सम्पन्न गर्ने भनेर तोकिएको छ । वडामै गएर योजना सम्झौता गर्दा हामीलाई पनि लक्ष्य अनुसार योजना सम्पन्न गर्नलाई सजिलो हुन्छ’, उनले भने ।
वडाबासीलाई नगरपालिकाको केन्द्रमा पुग्नपर्ने झन्झट पनि हट्ने लम्सालले बताए । असारे बिकासलाई रोक्न बार्षिक कार्यक्रम कार्यन्वयन पुस्तिका तयार पारेर काम भईरहेको प्रमुख प्रशासकिय अधिकृत लिलावल्लभ न्यौपानेले बताए ।
‘कुन योजना कहिले, कसरी, कहाँ, कस्का लागि गर्ने भनेर पुस्तिकामा उल्लेख छ । योजनाबद्ध तरिकाले काम हुन्छ । कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउँछ । पुँजीगत खर्चको गति पनि बढाउँछ । अर्थतन्त्रलाई चलायमान बनाउँछ । तोकिएकै मितीमा काम हुदाँ प्रभावकारिता समेत बढ्छ’, न्यौपानेले भने ।
जनतालाई नगरपालिकाको कार्यालयको शाखामा र बैंकमा भौतारिदा भोग्ने सास्ती हटाउनलाई वडामै गएर योजना सम्झौता गर्न थालेको उनले बताए । नगरपालिकाको केन्द्र दुलेगौँडाबाट टाढा पर्ने वडा नम्बर १, १०, ११ र १२ को वडा कार्यालयमै पुगेर योजना सम्झौता गरिने उनले जानकारी दिए । नियमित रुपमा भने नगरपालिकाको कार्यालयबाट योजना सम्झौता भईरहेको छ । वडा कार्यालयमै योजना सम्झौता गर्न नगरपालिका आएपछि सेवाग्राहीलाई राहत मिल्यो ।
शुक्लागण्डकी–१० मा एकैदिन १८ वटा योजना सम्झौता भएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार चालु बर्षमा वडाले ३८ योजना सञ्चालन गर्दैछ । यसअगाडी पनि नगरपालिकामा पुगेर सम्झौता भएर केही योजनाको काम सुरु भईसकेको उनले बताए । वडामै नगरपालिका आएर योजना सम्झौता गर्दा उपभोक्ताले संघियताको मर्म अनुसार सिंहदरबारको अधिकार गाउँमै आएको महशुस गर्न पाएको उनले बताए ।