दुलेगौडा । गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएका छन् शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतको परिवारले । कोदो मकै फल्ने बारीमा लगाईएको १२ सय बोटले त फल दिन थालिसकेको छ ।
महत परिवारले यो बर्ष सुन्तला विक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी लिन सफल भएको बताउँछन् । महत आफैँले काठमाडौँको कालीमाटी बजारसम्म सुन्तला पु¥याएर विक्रि गरेका हुन् । ‘यसपाली राम्रो फलेको थियो । बेलाबेलामा बर्षात हुदाँ कुहिएर धेरै झरे । पानी नपरेको भए अझ धेरै कमाई हुन्थ्यो होला’, उनले भने । सुन्तला विक्रीबाट भएको कमाईबाट करिब पाँच लाख रुपैयाँ त गोडेमेल, खनजोेत, औषधिउपचार र मलजलमा खर्च हुने उनले बताए ।
जरेबरका दुर्गा भुजेल पनि यसपाली सुन्तला विक्रीबाट मनग्य आम्दानी लिन सफल भए । १३ लाख ९० हजार रुपैयाँको सुन्तला उनको बगानबाटै विक्री भएको हो । आम्दानी भएको रकमबाट दुई लाख रुपैयाँ गोडमेल र खनजोतका लागि छुट्याएको उनले बताए । उनका अनुसार बाँकी रकम केही घर खर्चमा सकिन्छ त केही रकम बचत समेत हुन्छ । ‘कोदो मकै लगाउन छाडेर बारीभर सुन्तला मात्र लगाएका छौँ । आम्दानीको मुख्य स्रोत नै सुन्तला बनेको छ पछिल्ला बर्षहरुमा’, उनले भने ।
बगानको सुन्तलाले बजार पाउनलाई कुनै समस्या नरहेको भुजेलले जानकारी दिए । ‘सुन्तला टिप्ने बेला भएपछि बगान ठेक्कामा लिनलाई घरघरै ठेकेदार आउँछन् । ठेकेदारको खोसाखोस हुन्छ’, उनले अगाडी थप्दै भने, ‘सुन्तलाको बजार राम्रै छ । मुल्य त्यति राम्रो पाउन सकेका छैनौँ । मेहनतको अनुसार मुल्य नपाएको जस्तो लाग्दछ ।’
महत र भुजेल प्रतिनिधी किसान मात्र हुन् । यि दुईले जस्तै शुक्लागण्डकी नगरपालिका–११ को नाम्सीकोट, जरेबर, पाल्पालीछाप, अलैचे, ज्याङलादीका हरेक घरले सुन्तला विक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गर्छन । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती बनेको छ ।
सुन्तलाका लागि हावापानी र माटो उपयुक्त भएपनि यस क्षेत्रका किसानले ६० को दशक पछाडी मात्र व्यवसायिक सुन्तला खेती थालेका हुन् । सुन्तलता खेतीमा लागेपछि किसानको जिवनस्तर उकासिएको सुन्तला जात फलफुल ब्लक सञ्चालक समिति नाम्सीकोटका अध्यक्ष जगत महत बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको नाम्सीकोट सुन्तला ब्लकमा १३३ किसान आबद्ध छन् । समुहमा आबद्ध हरेक किसानले कम्तीमा एक लाख रुपैयाँदेखी ४५ लाख रुपैयाँसम्म बर्षेनी आम्दानी लिने उनले बताए ।
यो बर्ष झण्डै चार करोड रुपैयाँको सुन्तला ब्लक क्षेत्रबाट बाहिरिएको उनले जानकारी दिए । विगतका केही बर्षयता बर्षेनी चार करोड रुपैयाँकै हाराहारीमा सुन्तला विक्रीबाट किसानले आम्दानी लिदैँ आएका छन् । ‘कोदो मकैको खेती गर्ने चलन त यतातिर हराईसक्यो । सबै सुन्तला खेतीमा रमाएका छन् । आम्दानी राम्रो भएपछि सबैको दिलोज्यान सुन्तला खेतीमा छ’, ब्लक सञ्चालक समितिका अध्यक्ष महतले भने । महत भन्छन्, ‘सुन्तला फुलेपछि नटिप्दासम्म हाँगा हाँगमा पैसा फले जस्तो लाग्दछ ।’ उनका अनुसार गाउँका अधिकांश युवा वैदेशिक रोजगारीबाट फर्केर सुन्तला खेतीमा रमाईरहेका छन् । सुन्तलाका विरुवाको स्याहारसुसारमा व्यस्त हुन्छन् ।
नाम्सीकोट, जरेबर, पाल्पालीछाप, अलैँचे, ज्याङलादीका हर घरमा सुन्तलाको सानाठुला बगान छ । मंसिरदेखी १५ माघसम्म सुन्तलाले पहेँलपुर देखिन्छ यो क्षेत्र । सुन्तला टिप्ने बेला भएपछि ठेकेदारहरुको प्रतिष्पर्धा नै चल्छ बगान ठेक्का लिनका लागि । यहाँको सुन्तला काठमाडौँको कालिमाटी बजार बाहेक अन्त कतै जादैन् । सुन्तलालले मनग्य आम्दानी मात्रै दिएको छैन् स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त भएको छ । सुन्तला टिप्ने बेलामा दैनिक ६० जनासम्मले रोजगारी पाउने सुन्तला जात फलफुल ब्लक सञ्चालक समितिका सचिव नारायण सिग्देलले बताए । ‘सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, सडकसम्म बोकेर ल्याउने र लोड गर्नलाई स्थानीयले रोजगारी पाउँछन् । टिपेर सकिएपछि फेरी एक महिना गोडमेल गर्नलाई पनि रोजगारी सिर्जना हुन्छन्’, उनले भने । सुन्तला टिप्न र गोडमेल गर्न जानेले दैनिक सात सय रुपैयाँसम्म ज्याला पाउँछन् ।
सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।