शुक्लागण्डकी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७८, बिहीबार

    दुलेगाैडा । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । शुक्लागण्डकी नगरपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकको निर्णय अनुसार नगरपालिकाबाट हुने अत्यावश्यक बाहेकका सेवाहरु अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको छ ।

    कार्यालयमा कार्यरत १६ जना विभिन्न तहका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले कार्यालयको सेवा बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरपालिकामा तत्काल उपलब्ध कर्मचारीबाट आलोपालो प्रणालीमार्फत् अत्यावश्यक सेवा प्रदान गरिनेछ ।

    नगरपालिका अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र र इकाइहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सेवा प्रवाह सुचारु रहने उहाँले बताउनुभयो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार माघ ७ गतेदेखि सरकारी कार्यालयबाट प्राप्त हुने सेवा लिन जाँदा अनिवार्य रुपमा खोप कार्ड देखाउने व्यवस्था भएबमोजिम नगरपालिका र अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र र सेवा इकाइबाट सेवा लिन आउँदा अनिवार्य खोप कार्ड साथमै लिई आउन नगरपालिकाले अनुरोध गरेको छ ।

    शुक्लागण्डकी नगरपालिकाभित्र खोप नलगाएका व्यक्तिहरुको खोज तथा पहिचान एवं खोप व्यवस्थापन गर्न सम्बन्धित वडा कार्यालय, टोल विकास संस्था महिला स्वयंसेविकासँग समन्वय गरी लगत तयार गर्न स्वास्थ्य शाखालाई निर्देशन दिइएको छ ।

    नगरपालिकाले एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिहरुको पिसीआर परीाण प्रत्येक हप्ताको सोमबार खैरेनीटार स्वास्थ्यचौकीबाट सञ्चालन गर्ने र कोभिड–१९ को लक्षण भएका व्यक्तिको निःशुल्क एन्टिजेन परीक्षण प्रत्येक दिन खैरेनीटार स्वास्थ्यचौकीबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

    कोभिडबाट सङ्क्रमितलाई स्वास्थ्यमा जटिलता देखिएमा थप उपचारको व्यवस्थापनका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र तथा प्रादेशिक कोभिड अस्पतालसँग समन्वय तथा सहकार्य गर्ने, होम क्वारेन्टिन र होम आइसोलेशनमा रहेका व्यक्तिहरुको स्वास्थ्इ निगरानी तथा निजहरुको स्वास्थ्यको अवस्थाका सम्बन्धमा रिपोर्टिङ तथा अनुगमन गर्न नगरपालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सम्मिलित दु्रत प्रतिकार्य समूह गठन गरिएको छ ।

    यसैगरी नगरपालिकाले वडा नम्बर ४ मा रहेको खैरेनीटार स्वास्थ्य चौकीको दोस्रो तल्लामा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ ।