दमाैली । तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको दिन आयोजना हुने अल्ट्रा म्याराथन स्थगित गर्ने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले कोरोना कहरका कारण अल्ट्रा म्याराथन स्थगित गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले प्रत्येक वर्ष माघ १६ गते व्यास–५ मानुङकोटदेखि व्यास–८ पुलिमराङसम्म ४४ किमि दूरीको अल्ट्रा म्याराथन गर्दै आएको छ । सरकारले कोरोना जोखिमका कारण भीडभाड हुने सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएसँगै नगरपालिकाले अल्ट्रा म्याराथन स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
नगरपालिकाले विद्यमान कोरोना सङ्क्रमणको प्रभाव विभिन्न क्षेत्रमा पर्दै गएकाले सम्पूर्ण नगरवासीमा स्वास्थ्य मापदण्ड पालना गर्न र कोरोना सङ्क्रमणको शङ्का लागेमा कोभिड अस्पताल प्रयोगशालामा पिसीआर परीक्षण गराउन आग्रह गरेको छ ।
बैठकले माघ २१ गते हुने ३६ औं नगर सभाका सम्बन्धमा विभिन्न विषयमा तयारी गर्न सम्बन्धित विषयगत समिति, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
आर्थिक वर्ष ०७८÷०७९ का विभिन्न एक हजार ४७ योजनामध्ये तीन सय ४९ योजनाहरु सम्पन्न भएको, चार सय २० योजनाहरु सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र दुई सय ७८ योजना सम्झौताको तयारीमा रहेको बैठकमा समिक्षा गरिएको थियो । नगरपालिकाका अनुसार कुल विनियोजित रकमको ३२ प्रतिशत रकम खर्च भइसकेको छ ।
बैठकले नगरपालिका भित्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि ५० देखि एक सय रोपनीसम्म सार्वजनिक जग्गाको खोजी गरी तीन महिनाभित्र सरसफाई केन्द्र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।