दमाैली । व्यास नपा–३ स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति र संस्थालाई राहत, सम्मान र सहयोग प्रदान गरिएको छ । सहकारीको स्थापना दिवसको अवसरमा शनिबार सहकारीको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष प्रदिपराज अधिकारीले उक्त राहत, सम्मान र सहयोग प्रदान गरेका थिए ।
सो अवसरमा संस्थाका उत्कृष्ट कारोबारी (ऋणी), उत्कृष्ट संस्थागत र व्यक्तिगत बचत कर्तालाई सम्मान गरिएको थियो भने शेयर सदस्य तथा शेयर सदस्यको एकाघरका व्यक्तिको निधनमा संस्थाको नियम अनुसारको राहत रकम पनि प्रदान गरिएको थियो । त्यसैगरि आदिकवि भानुभक्त क्याम्पसमा विविएस प्रथम वर्षमा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार दुई जना छात्र÷छात्रा सोममाया विक र विशाल रानाभाटलाई जनही दश हजारको दरले छात्रबृत्ती रकम पनि अध्यक्ष अधिकारीले हस्तान्तरण गरेका थिए ।
त्यस्तै व्यास नपा २ स्थित श्रीटोल विकास संस्थालाई चार थान स्टिलको कुर्सी तथा व्यास नपा ४ स्थित विरता टोल विकास संस्थालाई ४० थान प्लाष्टिकको कुर्सी पनि हस्तान्तरण गरिएको थियो । त्यसैगरि स्थापना दिवसकै अवसरमा व्यास नपा १० स्थित गौं संरक्षण केन्द्रलाई १० हजार रुपैयाँ बराबरको पराल पनि उपलब्ध गराउने घोषणा गरिएको थियो ।
सो अवसरमा आयोजित कार्यक्रमा सहकारीका अध्यक्ष अधिकारीले सहकारी संस्थाहरु नाफा कमाउने र बोनस बाँड्ने काममा मात्र नभई सामाजिक उत्तरदायित्वको काममा पनि सरिक हुनु पर्ने बताए । समाजप्रतिको दायित्व बोध गरेर नै व्यास सहकारीले विगतदेखि नै यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको अध्यक्ष अधिकारीले बताए ।
सो कार्यक्रममा सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक राजेश्वर हड्खले, सल्लाहाकार विष्णुकुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्य केशव भट्टराई तथा उत्कृष्ट संस्थागत वचत कर्ताको तर्फबाट जनजुक्त शाही मावि साँगेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत राज काफ्ले लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन सहकारीका सचिव त्रिभुवन श्रेष्ठले गरेका थिए ।
सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।