काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी ऐन विपरित भिजिट भिषाका नाममा श्रमिकलाई अलपत्र बनाउने कम्पनी वा व्यक्तिलाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री श्रेष्ठले भिजिट भिषाका नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पु¥याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु. ट्राभल्स सञ्चालकहरु, दलाल तथा बिचौलियाहरु संलग्न रहेको पाइएको छ र उनिहरुबारे उजुरी पनि आएको छ,” उनले भने, “त्यस्ता सबैलाई कारवाहीको दायरामा ल्याउँछौ ।”
पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पु¥याई दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर दिनहुँ कयौं गुनासो आउने गरेको बताउँदै श्रेष्ठले भने, “नेपाली युवाहरु रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्करहरुको सञ्जालमा समेत पर्ने देखिएको छ ।”
यस्ता समस्या समाधानका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको श्रेष्ठले जानकारी दिए ।
यसरी अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भए त्यस्तो कार्यमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनीहरुबारे जानकारी गराइ सहयोग गरिदिन मन्त्री श्रेष्ठले आग्रह गरेका छन् । त्यसका लागि सचिवालयको मोवाइल नम्वरः ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन सक्ने बताइएको छ ।