दमाैली । पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा १६ फिटको नेपालको राष्ट्रिय झण्डा अनावरण गरिएको छ । रुखलाई बीचमा पारेर दायाँबायाँ कालोपत्र गरिएको सडक चर्चित भएसँगै नवआदर्श टोल विकास संस्थाले त्यस ठाउँमा राखेको नेपालको राष्ट्रिय झण्डाको शनिबार नगरप्रमुख वैकुण्ठ न्यौपानेले अनावरण गरेका हुन् ।
सो अवसरमा नगरप्रमुख न्यौपानेले तनहुँसुरको विकासका लागि विगतदेखि गरिँदै आएको प्रयास सार्थक हुन लागेको बताए । उनले तनहुँसुर चौतारी एवं प्रस्तावित उद्यानका लागि नगरपालिकाको तर्फबाट रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जनाए ।
तनहँुसुर चौतारी एवं प्रस्तावित उद्यान निर्माण क्षेत्र देउराली डाँडामा ४० फिटको पोलमा नेपालको झण्डा राखिएको छ । टोल विकास संस्थाले चर्चित बनेको चौतारा संरक्षणका लागि पनि पहल थालेको छ । दुई चौताराको संरक्षणका लागि रकम सङ्कलन समेत गरिएको छ ।
दुवै चौतारा मर्मत सम्भार र निर्माणका लागि स्थानीय सरकार, सङ्घसंस्था र स्थानीयवासीलाई सहयोगको अनुरोध गरिएसँगै रकम उठ्न सुरु भएको टोलका अध्यक्ष सन्जय श्रेष्ठले बताए । उनका अनुसार चौतारी एवं प्रस्तावित उद्यान निर्माणका लागि सहयोग गर्नेमध्ये रु पाँच हजारभन्दा बढि दिनेको नामावली शिलालेखमा लेखिनेछ । श्रेष्ठका अनुसार हालसम्म रु तीन लाख भन्दा बढी रकम सङ्कलन भइसकेको छ ।
रुखलाई संरक्षण गरी सडक कालोपत्र भएपछि यस ठाउँमा एकाएक पर्यटकको चहलपहल ह्वात्तै बढेपछि रुखलाई संरक्षण गर्दै चौतारी निर्माण गर्न लागिएको हो । सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ । अन्य दिनको तुलनामा शनिबार सर्वसाधारणको बाक्लो भीडभाड हुने गरेको छ । तनहँुसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ । उक्त मोटरमार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको हो ।
अब ऐतिहासिक तनहँुसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ । हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको छ ।
कुल रु दश करोडको इष्टमेट भएपनि टेन्डर प्रक्रिया मार्फत् ऋषि शक्ति जेभीले रु सात करोड ५१ लाखमा कालोपत्र र पक्की नाला निर्माण गरेको हो । उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो ।
कालोपत्र सडक मार्फत् अब तनहँुसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ । उक्त सडकको योजना छनौटका लागि तनहँु क्षेत्र नम्बर १ का तत्कालिन एमाले सांसद तथा वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सहयोग रहेको छ ।
तस्वीरहरु : किशाेर पन्त
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।