


दुलेगौँडा : नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले नगर कार्यालयको स्थापना गरेको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित नगरपालिका गेट अगाडी माओवादी केन्द्रले नगर कार्यालय स्थापना गरेको हो ।
घर भाडामा लिएर स्थापना गरिएको नगर पार्टी कार्यालयको गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले उद्घाटन गरे । उनले आगामी निर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउने गरी लाग्न निर्देशन दिए । पार्टी कार्यालयबाट पार्टीका गतिविधी थप बढाउनुपर्ने उनको भनाई छ ।
माओवादी र एमालेबिचको एकता प्रकृया भंग भएसँगै माओवादीको आफ्नै पार्टी कार्यालय थिएन् । स्थानीय तहको निर्वाचनको मिती घोषणा भएपछि माओवादीले पार्टी कार्यालय स्थापना गरेको हो ।
पार्टी कार्यालय स्थापना गरेसँगै शुक्लागण्डकी नगर कमिटीको नवनिर्वाचित पदाधिकारीको पदस्थपना समेत गरिएको छ ।
यस्तै, माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको आयोजनामा २७ औँ जनयुद्ध दिवस समेत मनाईएको छ । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा पृथ्वी राजमार्गको छेउमा जनयुद्धका शहीदहरुको सम्झनामा स्मृति पार्क बनाईएको छ । त्यही पार्कमा कार्यक्रम गर्दै जनयुद्धका शहीदको बलिदानीलाई स्मरण गरेको शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए ।
यसैबिच माओवादी केन्द्रको भातृ संगठन वाइसिएल शुक्लागण्डकी नगर कमिटी र विद्यार्थी संगठन अखिल क्रान्तिकारी शुक्लागण्डकी नगर कमिटीको आयोजनामा २७ औँ जनयुद्ध दिवस मनाईएको छ । विपीचोक र वन्केवाचोकमा सर्वसाधरणलाई मास्क वितरण गरी जनयुद्ध दिवस मनाईएको हो ।