दमाैली । आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु चार अर्ब भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०७८÷७९ को साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब २५ करोड तीन लाख राजश्व सङ्कलन गरेको हो ।
कार्यालयले उक्त अवधिमा रु चार अर्ब एक करोड ५१ लाख ४६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा रु २३ करोड ५१ लाख ५७ हजार बढी सङ्कलन भएको कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार छ महिनामा लक्ष्यको एक सय पाँच प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार अन्तशुल्क तर्फ रु दुई अर्ब ७९ करोड ९९ लाख, स्वास्थ्य सेवा तर्फ रु ८९ करोड ६८ लाख २० हजार, आयकरतर्फ रु ३२ करोड १३ लाख ४३ हजार, भ्याटतर्फ रु १९ करोड ७२ लाख ८० हजार, व्याजकरतर्फ रु दुई करोड ७७ लाख ९३ हजार, घरबहाल करतर्फ रु ७१ लाख १६ हजार र शिक्षा सेवा शुल्कतर्फ रु पाँच हजार सङ्कलन भएको छ ।
गत आर्थिक वर्ष ०७७÷७८ को छ महिनामा कार्यालयले रु तीन ३ अर्ब ५५ करोड ५२ लाख ९५ हजार राजश्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा रु ६९ करोड पाँच लाख आठ हजार बढी राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । पुस महिनामा मात्रै कार्यालयले रु एक अर्र्ब नौ करोड ४७ लाख चार हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब २७ करोड ५३ लाख पाँच हजार राजश्व सङ्कलन गरेको छ ।