भिमाद । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा भिमादमा जारी जिल्लास्तरीय लिग फुटबल प्रतियोगिताको उपाधि व्यासस्थित दोभान युवा क्लवले जितेको छ । भिमादस्थित रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा बन्दीपुरस्थित अजम्बरी युवा क्लवलाई पराजित गर्दै दोभानले उपाधि जितेको हो ।
पहिलो हाफमा अजम्बरीले एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा दोभानले एक गोल फर्काएपछि निर्धारित समय एक÷एकमा सकिएको थियो । निर्धारित समयमा दुवैको बराबरी गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा दोभानले ४–१ ले अजम्बरीलाई पराजित गरेको छ ।
भिमाद युवा क्लवलाई पराजित गर्दै दोभान फाइनलमा पुगेको थियो भने खैरेनीटार युवा क्लवलाई हराउँदै अजम्बरीले फाइनलको यात्रा तय गरेको थियो ।
उपाधिसँगै दोभानले नगद रु एक लाख र उपविजेता अजम्बरीले नगद रु ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा जिल्लाका दश समूहको सहभागिता थियो ।
प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर अजम्बरीका हेम आले मगर, उत्कृष्ट गोलरक्षक दोभान क्लवका सन्दिप थापा, उत्कृष्ट स्ट्राइकर दोभानकै समिर थापा, सर्वाधिक गोलकर्ता अजम्बरीका अजित मगर, उत्कृष्ट प्रशिक्षक दोभानका मिलन बानिया, उत्कृष्ट डिफेन्स दोभानका प्रेम आले घोषित भएको उपमहासचिव टिकाराम पनेरुले जानकारी दिए ।
विजेतालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा पूर्वमन्त्री भण्डारीले खेल क्षेत्रको विकासका लागि सरकारले ठूलो लगानी गरेको बताए । खेल क्षेत्रकै कारण नेपाल अन्तर्राष्ट्रिय स्तरमा चिनिन सफल भएको भण्डारीको भनाई थियो ।
कार्यक्रम जिल्ला फुटबल सङ्घका अध्यक्ष रत्नकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।