दमाैली । म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना क्लवको आयोजनामा शनिबारदेखि दशौं आदर्श तथा तथा पाँचौ तारा स्मृ ितकप फुटबल प्रतियोगिता सुरु भएको छ । क्लवले हरेक वर्ष सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । ‘युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमूना’ भन्ने नारा सहित फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । पहिलो खेल एसएन ब्रदर्श पोखरा र समृद्धि युवा क्लव तिल्याटारबीच एकामा एसएन २–१ ले विजयी भएको छ ।
दोस्रो खेल बोटेटार ब्रदर्श र बरपिपल युवा क्लव थाङ्दीबीच भएकामा बोटेटार २–० ले विजयी भएको छ भने तेस्रो खेल तुलाचन एफसी पोखरा र नमस्ते देउराली दमौलीबीच भएकामा तुलाचन एफसी १–० ले विजयी भएको छ ।
फागुन २१ सम्म सञ्चालन हुने प्रतियोगितामा विजेतालाई नगद एक लाख र उपविजेतालाई ५० हजार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई समेत पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिए ।
क्लवले विगत २०६८ सालदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । तनहुँ फुटबलको इतिहासमा दश वर्षसम्म अनवरत रुपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमूना क्लवमात्रै रहेको दावी गरिएको छ ।