घण्टौ हिँड्नुपर्ने बाध्यताले विद्यालय शिक्षा कष्टकर : गाउँका विद्यालयमा न स्कुल बस, न छात्राबास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    घण्टौ हिँड्नुपर्ने बाध्यताले विद्यालय शिक्षा कष्टकर : गाउँका विद्यालयमा न स्कुल बस, न छात्राबास

    अस्मिता खनाल

    २१ फाल्गुन २०७८, आईतवार


    तनहुँ । ग्रामीण भेगका बालबालिकाका लागि विद्यालय शिक्षा प्राप्त गर्नु निकै कष्टपुर्ण छ। छरिएका पातला बस्ती भएका गाउँहरु रहेको रिसिङ गाउँपालिकाका विद्यालयहरुमा न स्कुल बसको व्यवस्था छ, न छात्रावास । घर र विद्यालय विचको दुरी ५ देखि ८ किलोमिटर लामो भएका दर्जनौ गाउँ छन् । साढे २ घण्टा सम्म हिडेर विद्यालय पुग्दा थकाई लाग्ने, समयमा खाना खान नपाउने, महिनावारी तथा साधारण स्वास्थ्य समस्या हुदाँ समेत हिड्न सकस हुने जस्ता कारणले आधारभुत तथा माध्यमिक विद्यालय पढ्ने विद्यार्थीको शैक्षिक उपलब्धि संगै स्वास्थ्य र अतिरिक्त विकासमा नकारात्मक प्रभाव परिरहेको छ।

    ऋषिङ गाउँपालिकाको हवेलीडाडाँ स्थित शिव सरस्वती मा.वि का कुल ६२८ जना विद्यार्थी मध्ये झण्डै एक तिहाई विद्यार्थी कोखे, डडिबन, मजदाङ, सपाङ्दी, मोचावारी, बजाडी, कान्छे, पुरानो रिसिङ जस्ता गाउँहरुबाट कम्तीमा डेढ घण्टा देखि साढे २ घण्टा सम्म पैदल हिडेंर विद्यालय आउँछन् । फर्कदा त्यति नै समय लाग्छ । यसरी दैनिक ३ देखि ५ घण्टा समय विद्यालय जान आउन मात्रै खर्चनुपर्छ ।

    कक्षा ९ मा पढ्ने निशान थापा तिनै विद्यार्थी मध्ये एक हुन् । घिरिङ मोचावारी उनको घर । घरमा भान्से पनि उनी आफै हुन् । भ्याएको दिन खाना बनाईवरी खाएर ८ बजे स्कुलका लागि निस्कन्छन्, नभ्याएको दिन भोकै दौडन्छन् । विद्यालयबाट आउँजाउँ गर्दा बेतोेडले हावाको भुमरी चल्ने अजम्बरी भिरको बाटो हिड्नुपर्छ । बर्खामा पानीबाट, हिउँदमा हावाहुरी र असिनापानी बाट जोगिन पहाडको कोप्रोमा छेल पर्दै मौसम सफा भएसम्म पर्खनु उनको नियति हो । “घरमा म र बाबा मात्रै छौं, कहिलेकाहीं भात तरकारी पकाउन भ्याईदैन, खाना बनाउदा होमवर्क गर्न भ्याईन्न्, फागुन चैतको महिनामा हावाहुरी, असिना, पानी आएको बेला कहिलेकाहीं त उतै साथीको घर बस्छु, कहिलेकाहीं चाहिँ ठुलै संकटमा परिन्छ” थापाले भने “पहाडको कोप्रो कोप्रोमा लुक्नुपर्छ, किताब भिज्छ, ड्रेसभिज्छ, भोलीपल्ट चिसै लगाएर जानुपर्छ ।”

    विहान ७ बजे घरको खाना खाएर हतार हतार विद्यालय दौडने अधिकांश निम्न वर्गीय परिवारका बालबालिकाहरुको गोजीमा खाजा खर्च हुदैंन, साँझ ६÷७ बजे घरपुगेपछि बल्ल उनीहरुले भोक मेट्छन्। “आउनेबेला खाना पाक्दैन, बेलुकाकै तरकारी संग भात खाएर आत्ति आत्तिकन आउनुपर्छ, पेट दुख्छ ” कक्षा ७ पढ्ने बझाडी गाउँका हुम बहादुर रानाले भने “खाईन्न खाजा त…कहिलेकाहीं स्कुलमा खाजा खाने, नभए घरै पुगेसी….केही रैछ भने खाने हो।”

    कक्षा १० पढ्ने विद्यार्थीहरु एस ई ई को तयारीका लागि विद्यालयमा नै अतिरिक्त कोचिङ पढ्छन् । घरबाट जान आउन सम्भव नहुने भएपछि विद्यालय नजिकै डेरा लिएर बस्नु उनीहरुको वाध्यता बनेको छ । कक्षा १० मा अध्ययनरत सरिता थापा डेरामा बस्दा आफैं खाना बनाउने, पानीको जोहो आफैं गर्नुपर्ने, आफैं सबै काम गर्नुपर्दा पढ्ने समय अपुग हुने बताउँछिन् । “विद्यालयमा छात्रावास भईदिएको भए आनन्दले पढ्न पाईन्थ्यो, हामीले दुःख पाए पनि छात्रावास भईदिए अबका विद्यार्थीलाई यस्तो दुःख हुन्थेन ।” कक्षा १० कै विद्यार्थी गिता वि.कले भनिन् ।

    तर विद्यालयकोे आन्तरिक स्रोतबाट छात्रावास संचालन गर्न नसकिएको विद्यालय प्रशाशन बताउँछ । अहिले गाउँ गाउँसम्म मोटरबाटो पुगेको छ । विद्यालय बसको मात्रै व्यवस्था गर्न सके पनि घण्टौ हिड्नुपर्ने समस्याबाट मुक्ति मिल्थ्यो । छात्रावास र विद्यालय यातायातको लागि विभिन्न निकायमा अनुरोध गरेपनि सुनुवाई नभएको प्रधानाध्यापक विष्णु बराल बताउँछन् । “छात्रावास निर्माणका लागि करिब २ करोड लागतको ईस्टिमेट तयार भएको छ, तर २ करोड दिएर छात्रावास निर्माण गरिदिने सरकारी अथवा गैरसरकारी संस्था अहिलेसम्म प्राप्त गरेका छैनौं, पालिका र प्रदेश सरकार संग माग गरिरहेका छौं ।” प्रधानाध्यापक बरालले भने ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर श्रेष्ठले भारतीय दुतावासको सहयोगमा स्कुल वसको व्यवस्था गर्न पहल भैरहेको बताए ।

    ऋषिङ गाउँपालिकाले अघिल्लो महिना सम्पन्न गाउँसभाबाट डेढ घण्टा भन्दा वढि पैदल हिड्नुपर्ने विद्यार्थीलाई मासिक एक हजार रुपैयाँ दिने निर्णय त गरेको छ । तर कार्यविधि बनिनसकेकोले कार्यान्वयनमा आएको छैन । मासिक एक हजार रुपैयाँ दिदा टाढाका विद्यार्थीलाई डेरामा बस्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको भनाई छ ।

    “गाउँसभा हुनुभन्दा ३ दिन पहिले म जय दुर्गा मा.वि पिपिलटारको वार्षिकोत्सवमा प्रमुख अतिथिको रुपमा गएको थिए, फर्कदा हाम्रै गाडीमा ३÷४ जना छात्रछात्रालाई सपाङ्दी सम्म ल्याईयो, उनीहरुसंग स्कुल जान कति समय लाग्छ भनेर सोध्यौं, जादाँ डेढ घण्टा फर्कदा डेढ घण्टा लाग्ने कुरा सुनाए, तिनै विद्यार्थीको जवाफबाट प्रभावित भएर मासिक १ हजार रुपैयाँ दिने निर्णय गरेका हौं।” अध्यक्ष श्रेष्ठले भने “एक हजार रुपैयाँले विद्यार्थीहरुलाई सामुहिक रुपमा विद्यालय नजिकै कोठा भाडामा लिएर बस्न सहयोग पुग्नेछ।”

    गाउँपालिका उपाध्यक्ष गिनुमायाँ थापा आफूले विद्यालय पढ्दा पनि लामो बाटो हिड्दाको दुःख भोगेको भन्दै अहिलेको गाउँपालिका सरकारले मासिक १ हजार रुपैयाँ दिने निर्णय गरेर समस्या सम्बोधनको सुरुवात गरेको दावी गरिन्। अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले गाउँका विद्यालयहरुमा छात्रावासको व्यवस्था गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने थापाको भनाई छ ।
    बनको बाटो पैदल हिड्नुपर्दा वन्यजन्तुको समेत डर हुने थापा बताउँछिन् । “बालिकाहरुलाई अझै धेरै समस्या छ, महिनावारी भएको बेला पाछेर हिड्नै सकिदैंन, मैले पनि भोगेको थिए” उपाध्यक्ष थापाले भनिन् “तनमा कष्ट, मनमा पनि कसैले दुव्र्यवहार गर्ला भन्ने डर !”

    सुरक्षित र सहज वातावरणमा गुणस्तरीय शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । विद्यालय टाढा भएकै कारण हिलो, धुलो जंगल र घुम्तीबाटोमा घण्टौ हिड्नुपर्ने, परिवार छाडेर डेरा गरी बस्नुपर्ने वाध्यताका बिच गाउँका बालबालिका कति सुरक्षित हुन सक्लान् ? बाल अधिकारका ठुला ठुला कुरा गर्नेहरुको ध्यान साना नानीबाबुले भोगेका यस्ता आधारभुत समस्या तर्फ कहिले जाला ?