


दमाैली, २९ असार । दुई सय १२ औं भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा विद्यालय स्तरीय कविता, चित्रलेखन, खुल्ला कविता र भानुभक्तीय रचनापाठ प्रतियोगिता प्रतियोगिता सम्पन्न भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा शनिबार ती प्रतियोगिता आयोजना गरिएका हुन् ।
विद्यालय स्तरीय कविता प्रतियोगितामा फिस्टेल आवासीय माध्यमिक विद्यालयका मौसमी गैरे प्रथम हुनुभएको छ । गोगन माध्यमिक विद्यालय पोखराका सुजाता पौडेल द्वितीय, भानु संस्कृत माविका सृष्टि सुनार तृतीय तथा भानु संस्कृत माविका विनिशा श्रेष्ठ र नारायणी आवासीय विद्यालयका शिवानी अधिकारी सान्त्वना भएकाे समितिका सदस्य सचिव कृपाहरि लौडारीले जानकारी दिए ।
त्यस्तै विद्यालय स्तरीय भानुभक्तको चित्रलेखन प्रतियोगितामा जनजागृती माविका स्नेहा गुरुङ प्रथम, भानु संस्कृत माविका अङ्कित बसेल द्वितीय, नारायणी आविका रमेश राई तृतीय र अनिता तामाङ सान्त्वना भएका छन् ।
खुल्ला कविता प्रतियोगितामा भानु नगरपालिका–४ का महेश ठेडी मगर प्रथम, भानु नगरपालिका–१ का रश्मी सेढाइ द्वितीय, भानु नगरपालिका–४ का रामप्रसाद पौडेल तृतीय र सोही वडाका अनिता श्रेष्ठ सान्त्वना भएका छन् ।
भानुभक्तीय रचनापाठ प्रतियोगितामा गोगन मावि पोखराका सुजाता पौडेल प्रथम, व्यास नगरपालिका–३ का स्वाधिनता पौडेल द्वितीय, भानु संस्कृत माविका गरिमा नेपाली तृतीय र भानु संस्कृत माविकै प्रस्तुती आचार्य सान्त्वना भएका छन् ।
विद्यालय स्तरीय कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु दुई हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
विद्यालय स्तरीय भानुभक्त चित्र लेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु चार हजार, रु तीन हजार, रु दुई हजार र रु एक हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
खुल्ला कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १५ हजार, रु दश हजार, रु पाँच हजार र रु दुई हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
भानुभक्तीय रचनापाठ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु दश हजार, रु सात हजार, रु पाँच हजार र रु दुई हजार नगद पुरस्कार प्रदान गरिएकाे छ ।