आगलागीबाट करोडौको क्षति भएको प्रारम्भिक अनुमान (घर क्षतिकाे विवरण सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगलागीबाट करोडौको क्षति भएको प्रारम्भिक अनुमान (घर क्षतिकाे विवरण सहित)

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७८, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करौडौको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भिषण आगलागी हुँदा करोडौ मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो ।

    हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरुमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भएपनि एकिन विवरण आउन बाँकी रहेको बताए । “क्षतिको आँकलन गर्न सक्ने अवस्था नै छैन, ठूलो क्षति छ,” उनले भने, “केही दिनमा क्षतिको यथार्थ विवरण आउला ।”

    जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिएको छ । प्रहरी नायब उपरिक्षक युवराज खड्काले क्षतिको विवरण प्राप्त नभइसकेको बताउँदै विवरण लिने काम भइरहेको जानकारी दिए।

    प्रहरीका अनुसार आगलागीबाट भूपाल हार्डवेयरको गोदाम पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै ज्योतिकुमार श्रेष्ठको तीन तले पक्की घरको पछाडि भाग आंशिक र गोदाम पूर्ण रुपमा क्षति भएको छ ।

    यसैगरी बलराम रानाको तीन तले पक्की घरको पछाडि एक साइड जलेर आंशिक, कृष्णबहादुर थापाले सञ्चालन गरेको तनहुँसुर मिनी मार्केटको दुई वटा सटर आंशिक, होमबहादुर गुरुङको तीन तले घरको पछाडि भागको झ्यालढोका लगायत गाह्रोमा क्षति, राममाया गुरुङको तीन तले पक्की घरको पछाडि भागको झ्यालढोका लगायत गाह्रोमा क्षति, लाल बहादुर गुरुङको चार तले पक्की घरको पछाडीको भाग झ्याल ढोका जलि आंशिक रुपमा क्षति भएको छ ।

    यस्तै लिलबहादुर विकको दुई तले पक्की घरको पछाडीको झ्यालको चौकोस जली आंशिक क्षति, नविन गुरुङको चार तले पक्की घरको पछाडीको झ्याल ढोका जली आंशिक, दिपक कुमार श्रेष्ठको तीन तले पक्की घरको पछाडीको झ्यालको सिसा फुटेको वीरदेव धमेलको तीन तले पक्की घरको पछाडी झ्यालको चौकोस सामान्य रुपमा जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

    आगलागी नियन्त्रणका लागि प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मीको नेतृत्वमा एक सय जनाको टोली, जिल्ला प्रहरी कार्यालय लमजुङ र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक समेत घटनास्थलमा खटिएका थिए । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), सशस्त्र प्रहरी बल र स्थानीयवासीले पनि सहयोग पु¥याएका थिए ।

    आगलागी नियन्त्रणका लागि व्यास नगरपालिका, पोखरा महानगरपालिका र लमजुङबाट आएको दमकल प्रयोग गरिएको थियो । बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजेपछि पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।