दमाैली । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो महिला हाफ म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी छन् । व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किमि दूरी एक घण्टा ५५ मिनेट १२ सेकेण्डमा पार गर्दै नेपालकी किर्तिमानी धाविका कोजुले उपाधि जितेकी हुन् । सशस्त्र प्रहरी बल (एपिएफ) की खेलाडी कोजु राष्ट्रिय स्तरका दौड प्रतियोगितामा सहभागी हुँदै आएकी छन् ।
प्रतियोगितामा नेपाल प्रहरीकी रेखा बम विष्ट द्वितीय भएकी छन् । उनले उक्त दूरी दुई घण्टा चार मिनेट ४२ सेकेण्डमा पार गरिन् । प्रतियोगितामा व्यास–१० निवासी नम्रता गुरुङ तृतीय भइन् । उनले उक्त दूरी दुई घण्टा ११ मिनेट २३ सेकेण्डमा पूरा गरिन् । तृतीय भएकी गुरुङ व्यास नगर खेलकुद विकास समितिका सदस्य हुन् । खेलकुदमा प्राेत्साहन गर्ने उद्धेश्य सहित खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास-५ का वडाध्यक्ष माेहनकुमार श्रेष्ठले गुरुङलाई सदस्यमा मनाेनित गरेका थिए । गुरुङ गत वर्ष आयाेजित म्याराथनमा चाैथाे भएकी थिइन् ।
प्रतियोगितामा ५१ धावकको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ७८, द्वितीय हुनेलाई रु ३१ हजार ७८ र तृतीय हुनेलाई रु २१ हजार ७८ प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।
व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म दौड गरिएको थियो ।
गत वर्ष आयाेजित प्रतियाेगिताकाे उपाधि धादिङकी रसिला तामाङले जितेकी थिइन् । त्यस्तै खाेटाङकी प्रिया राइ द्वितीय र पाेखराकी अनिता राइ तृतीय भएकी थिइन् ।