शुक्लागण्डकी खैरेनीटार महोत्सवको तयारी सुरु, चैत २४ देखी हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    शुक्लागण्डकी खैरेनीटार महोत्सवको तयारी सुरु, चैत २४ देखी हुने

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७८, शुक्रबार

    शुक्लागण्डकी उद्योग वाणिज्य संघले पनि २४ चैतदेखी ५ वैशाखसम्म खैरेनीटारमै शुक्लागण्डकी महोत्सव गर्नलाई तयारी थालेको छ ।

    दुलेगौँडा : चैत अन्तिम साता शुक्लागण्डकी खैरेनीटार महोत्सव हुने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइको आयोजनामा २४ चैतदेखी ५ बैशाखसम्म खैरेनीटार महोत्सव हुन लागेको हो ।

    एघारौँ संस्करणसम्म गरिएको खैरेनीटार महोत्सवको निरन्तरता स्वरुप नै शुक्लागण्डकी खैरेनीटार महोत्सव आयोजना गरेको सभापति पुर्ण कायस्थले बताए ।

    पहिला तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गत रहेको खैरेनीटार बजार इकाइले चैते दशैँको छेको पारेर खैरेनीटार महोत्सव गर्दै आएको थियो । दुई बर्षदेखी संघीयता अनुसार शुक्लागण्डकीमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी उद्योेग वाणिज्य संघ स्थापना भएको छ । राजनीतिक खिचातानीका कारण साविकको खैरेनीटार बजार ईकाईमा आबद्ध व्यवसायी दुई धारमा विभाजित छन् । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ मातहातमा रहेको खैरेनीटार बजार ईकाईले महोत्सवको आयोजना गरेको हो । यता शुक्लागण्डकी उद्योग वाणिज्य संघले पनि २४ चैतदेखी ५ वैशाखसम्म खैरेनीटारमै शुक्लागण्डकी महोत्सव गर्नलाई तयारी थालेको छ । खैरेनीटार महोत्सव एकातिर दुई उद्योग वाणिज्य संघको गठन र अर्कोतर्फ कोरोना संक्रमणका कारण रोकिएको थियोे ।

    शुक्लागण्डकीको धार्मिक, पर्यटकीय स्थलसँगै स्थानीय कला सँस्कृति र कृषि उपजको प्रर्बद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरेको कायस्थले बताए । ‘परम्परागत मेलालाई खैरेनीटार महोत्सवमा रुपान्तरण गरेका थियौँ । शुक्लागण्डकीलाई महोत्सव मार्फत चिनाउन सकेका छौँ । दुई बर्ष महोत्सव भएको थिएन । यसपाली त्यसैको निरन्तरता स्वरुप गर्दैछौँ’, उनले भने ।

    महोत्सवमा चार करोड ७५ लाख रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको प्रवक्ता हरि थापाले बताए । दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । महोत्सवमा २२५ स्टल रहनेछ । तिमध्ये एक सय स्टल बुकिङ भईसकेको उनले जानकारी दिए । ‘स्थानीय व्यवसायीलाई स्टल बुकिङमा ३० प्रतिशत छुटको व्यवस्था छ । कृषि र घरेलुको स्टललाई निशुल्क गरेका छौँ’, उनले भने ।

    कला सँस्कृतिको झाँकी प्रर्दशनी, धार्मिक एवम ऐतिहासिक स्थलको अवलकोन, गुफा र दगाम भुजिकोटको अवलोकन, प्रदेश तारा गायन प्रतियोगिता, वैदेशिक रोजगारसँग सम्बन्धित सुचनामुलक कार्यक्रम, राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती, खेलकुद प्रतियोगिता, खुला नृत्य प्रतियोगिता महोत्सवका आकर्षण हुन् । महोत्सवलाई नयाँपन दिनलाई स्थानीयदेखी राष्ट्रियसम्मकका बाल कलाकारहरुको विशेष प्रस्तुती महोत्सवको मुख्य आकर्षण रहने जनाईएको छ ।

    महोत्सवबाट भएको आम्दानीको ४० प्रतिशत सामाजिक क्षेत्रमा खर्चने महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठ बताउँछन् । ‘शवदहनस्थलमा निर्माणमा महोत्सवको आम्दानी खर्चनेछौँ’, उनले भने । महोत्सवले शुक्लागण्डकीका व्यवसायीलाई फाईदा पु¥याउने उनको दाबी छ ।