दमौली । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका नायक पल शाह विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले शाह विरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर राय सहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले शाह विरुद्ध कैद सजाय माग सहित मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार शाह विरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ ।
“पीडित १६ वर्ष कम भएका कारण शाह विरुद्ध १० देखि १२ वर्षसम्म कैद दावी सहित मुद्दा दर्ता गरेका छौ,” उनले खबरपुञ्जसँग भने, “साथै मनासिव क्षतिपूर्तिको मागदावी गरेका छौ ।”
साथै शाहका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध सो सजायको आधा सजाय माग गरिएको छ । जोशीलाई मतियारका रुपमा शाहको भन्दा आधा सजाय मागदावी गरिएको शर्माले बताए ।
गत फागुन ११ गते नाबालिगकले शाह विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । त्यसपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । सोही दिन प्रहरीले शाह विरुद्ध सात, २१ गते १२ र चैत ४ गते पाँच दिनको म्याद थप गरेको थियो ।