दमाैली । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
व्यास नगरपालिका–७ शेरास्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया बुद्धिमाया दरै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौलीबाट दुईपिप्लेतर्फ जाँदै गरेको ग २० प २१४३ नम्बरको स्कुटरले बाटोमा हिँडिरहेकी दरैलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दरैको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।
यसैगरी शुक्लागण्डकी नगरपालिका–१० मिनामखानीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेशबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ग २ च ८२०१ नम्बरको बोलेरो जीप सोही ठाउँमा मलको खाल्डोमा पल्टिन जाँदा घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मिनामखानीस्थित बारीमा घाँस काटी फर्किने क्रममा युनिक मल्टि एग्रोभेट प्रालि (भैसी फार्म) मा कार्यरत कामदार घर्तीको मृत्यु भएको हो ।
दुर्घटनामा जीप चालक सोही ठाउँ बस्ने ४७ वर्षीय रुद्रबहादुर खड्का घाइते भएका छन् । उनको हातखुट्टामा चोट लागेको छ । प्रहरीका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ ।