दमाैली । युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेसन प्रालिले महिलाहरुलाई उद्यमी बनाउन व्युटिसियन तालिम प्रदान गरेको छ । प्रालिले व्यास, भानु, शुक्लागण्डकी, म्याग्दे, बन्दीपुर, देवघाट, आँबुखैरेनी, ऋषिङका महिलाहरुलाई उद्यमी बनाउन व्युटिसियन तालिम प्रदान गरेको हो । तालिममा ४० जना महिलाहरुको सहभागिता थियो ।
तीन महिने ३९० घण्टे उक्त तालिमको बुधबार समापन गरिएको छ । तालिमको समापन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले तालिम लिएपछि आफै उद्यमी बन्न आग्रह गरिन् । जुन तालिम आएपनि तालिम लिनमात्रै अगाडी सर्ने तर तालिम लिएपछि व्यवहारमा नउतार्ने प्रवृत्ति कायमै रहेकाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिइन् ।
व्यास नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले व्यावसायिक रुपमा अगाडी बढ्न प्रशिक्षार्थीलाई आग्रह गरे । महिला उद्यमी तनहुँकी अध्यक्ष निर्मला मल्लले सीप सिकेर उद्यमी बन्न आग्रह गर्दै महिलाहरुलाई सहयोग गर्न आफूहरु तयार रहेको बताइन् ।
नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्यले व्युटिसियन तालिमको माग विदेशमा पनि रहेकाले सीप सिकेपछि बेरोजगार बस्नुनपर्ने बताए । तालिमका संयोजक गोरा मियाँले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
प्रमुख प्रशिक्षक रफत साना मियाँले महिलाहरुको माग र बजारको आवश्यकतालाई ध्यानमा राखेर सीपमूलक तालिम प्रदान गरिएको बताइन् । तालिममा मन्जु पिया, सोफिया खातुन, कामना गुरुङ लगायतले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षार्थी रेश्मा विक र गोन्जा लोहगुनले तालिम लिएपछि उद्यमी बन्ने प्रेरणा मिलेको बताइन् ।