दुलेगौँडा । गत स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको सहभागिता ज्यादै न्युन रह्यो । तनहुँको १० स्थानीय तह मध्ये म्याग्दे गाउँपालिकाले मात्र महिला अध्यक्षमा मायादेवी रानालाई पायो । नौ स्थानीय तहमा महिला उपमै सीमित भए ।
८५ वडामध्ये ऋषिङ गाउँपालिका–८ मा भविसरा आले वडाध्यक्ष निर्वाचित भईन् । एकाध वडामा खुला तर्फबाट महिला वडा सदस्य निर्वाचित भए । महिला कोटामै सिमित भए । नौ स्थानीय तह र ८४ वडाको प्रमुख पदमा पुरुष नै हावी भए । सबै राजनीतिक दलले महिलालाई प्रमुख पदमा पुगेर नेतृत्व गर्ने अवसर नै दिएनन् ।
निर्वाचित जनप्रतिनिधिको पाँच बर्षे कार्यकाल सकिदैँछ । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको । यतिबेला देशभर स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधीले माहोल तातिरहेको छ । सम्भावित उम्मेद्वारहरुको चर्चा सुरु भएको छ । स्थानीय तह र वडाको प्रमुखमा पुरुषकै चर्चा बढी हुने गरेको छ ।
तनहुँका महिला जनप्रतिनिधिले अब उपमा नभएर प्रमुख पदमा उम्मेद्वारी दिने उद्घोष गरेका छन् । वडा सदस्यले वडाध्यक्ष र स्थानीय तहको उपप्रमुखले प्रमुखमा दाबी गर्ने उद्घोष गरेका हुन् । शुक्रबार सञ्चारिका समुह तनहुँले दमौलीले आयोजना गरेको जनप्रतिनिधी महिलाको पाँच बर्षे अनुभव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्लाका महिला जनप्रतिनिधिले वडाध्यक्ष र स्थानीय तहको प्रमुख पदमा दाबेदारी प्रस्तुत गर्ने बताएका हुन् ।
घिरिङ गाउँपालिका–२ की वडासदस्य सनम थापाले पाँच बर्षको सिकाईले यसपालीको निर्वाचनमा वडाध्यक्षको दाबी गर्ने बताईन् । ‘घरको समस्या समाधान गर्दै जनताको सेवा गरेको छु । यसपाली वडाध्यक्षमा उम्मेद्वारी दिने हो ।’ उनी आफु वडाध्यक्ष बन्नलाई योग्य भएकाले दाबी रहने उल्लेख गरिन् ।
शुक्लागण्डकी नगरपालिका–९ की वडा सदस्य गिता महतले पनि दयाको पात्र भएर उपमा सिमिति नहुने बताईन् । ‘उप मात्र हैनौँ प्रमुख हुन सक्ने क्षमता छ हामीसँग । अघिल्लो निर्वाचनमा दयाको पात्र बनाईयो । यसपाली पार्टी भन्दा फरक भएर क्षमतावान् महिलालाई अवसर दिऔँ’, उनले भनिन् । कार्यपालिका सदस्य समेत रहेकी महतले पुरुष सरह प्रतिष्पर्धामा उत्रने उनको भनाई छ ।
घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देल घिमिरेले स्थानीय तहमा पुरुषहरु हावि भएको दाबी गरिन् ।
‘महिलालाई सहभागी मात्रै गराईएको छ । समाज सुध्रिएको छैन् । लडाई धेरै लड्न बाँकी छ । पार्टीले टिकट दिएमा अध्यक्ष भएर काम गर्न सक्षम भएका छौँ । प्रमुखले भन्दा धेरै काम गरेका छौँ । पार्टीबाट अनुमोदन भएर टिकट पाएको खण्डमा जनताबाट अनुमोदन भएर निर्वाचन जित्न सकिन्छ भन्ने छ’, उनले भनिन् । जनताको मन जित्ने गरेर गाउँपालिकालाई हाँक्न सक्ने खुबी भएको घिमिरेले दाबी गरिन् ।
व्यास नगरपालिकाकी उपमेयर मिरा जोशीले पाँच बर्षको अनुभव र सक्षमताका कारण आफुले मेयरमा दाबी गर्ने बताईन् । ‘चुप लागेर बस्दैनौँ । मेयरको टिकट खोसेर पनि लिने हो । मुकाविला गर्ने हो । मेयरको आकांक्षी धेरै भएकाले टिकट कस्लाई दिने पार्टीकै हातमा छ’, उनले भनिन् । आफुसँगै राजनीति गरेका पुरुषहरु प्रदेश र संघमा पुगेर नेतृत्व गरिरहेकाले उपमेयरमा निर्वाचन लड्ने उनले बताईन् ।
समाज अझै पितृसतात्मक भएकाले महिलामैत्री नभएकोमा उनको गुनासो छ । महिलालाइै झोला बोकाएर निर्वाचन प्रचासप्रसारमा प्रयोग भईरहेको बेला प्रमुख या उपप्रमुख महिला हुनैपर्ने बाध्यकारी नियमले भने स्थानीय तहमा महिला सहभागिता बढाएको उनको भनाई छ ।
आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले पनि अध्यक्षमा दाबी रहने उद्घोष गरिन् । उनले पार्टीले दिएको खण्डमा आफु सक्षम रहेको बताईन् । अनुभवले गाउँपालिका अध्यक्ष बन्न सक्षम भएको उनको भनाई छ ।
म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले महिलाले प्रमुखमा दाबेदारी प्रस्तुत गर्न अनुरोध गरिन् । ‘टिकट लिने बेलामा प्रमुखमा ईच्छा देखाउनुप¥यो । उपप्रमुखको फाईल बोकेर हिँडेपछि कहाँबाट पाईन्छ प्रमुखको टिकट’, उनको भनाई छ । महिला नेतृत्व गर्नलाई सक्षम भएको उनले बताईन् ।
जिल्ला समन्वय समिति तनहुँ उपप्रमुख पवित्रादेवी पौडेलले महिलालाई जिम्मेवारी दिएमा नेतृत्व गर्न सक्षम भएको बताईन् ।
सञ्चारिका तनहुँकी अध्यक्ष सम्झना रसाईलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुनिता आचार्य, उपाध्यक्ष ममता गुरुङ लगायतले बोलेका थिए ।